सुनसरी । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितकाे अहिलेकाे गठबन्धनकाे विकल्प नभएकाे बताउनुभएकाे छ । आइतबार प्रेस युनियन सुनसरीले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकार गठनका बेला भएकाे सहमतिअनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभयाे ।
उहाँले सरकार गठन अघि भएकाे सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेकाे दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गर्नुभयाे । सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उहाँले बताउनुभयाे ।
`आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिकाे आवश्कता अनुसार अहिलेकाे सरकार बनेकाे छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छाैं,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,`याे भन्दा अगाडीकाे सरकारले पूरा गर्न नसकेका विकास कामहरू याे सरकारले गरिरहेकाे छ ।´
त्यस्तै,उहाँले संविधान संशाेधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेकाे बताउनुभयाे । अहिलेकाे सरकारले यसअघि सम्पन्न हुने नसकेका आयाेजनालाई सञ्चालनमा ल्याएकाे उदाहरण दिँदै उहाँले सरकारले हल्ला नगरी काम गरिरहेकाे बताउनुभयाे ।
जनचाहनाअनुसार आर्थिक समृद्धि र विकास निर्माणका काम सरकारकाे प्राथमिकतामा रहेकाे सिंहकाे भनाई थियाे । पत्रकार भेटघाटका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि सहभागि हुनुहुन्थ्याे ।