ताराखोलामा पक्कीपुल अभाव
९ भाद्र २०८०, शनिबार
गलकोट ।गलकोट बागलुङ सडकले सुगम बन्दै गएको बागलुङको ताराखोला गाउँपालिकाभित्र एउटा मात्रै पक्की पुल छ। धेरै खोला र खोल्सा भएको ताराखोलामा बर्खाको यात्रा भने सकसपूर्ण हुने गरेको छ ।
ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा पुग्न अहिले गलकोटबाट मुस्किलले दुई घण्टा लाग्छ । घुस्मेलीखोलामा पुल नहुँदा अर्गलबाट साँघुबोट हुँदै घुस्मेली आउन एक घण्टा बढी समय लाग्ने गरेको स्थानीय बताउँछन् । गाउँपालिकाको वडा नं ३ देखि २ नम्बर जोड्ने घुस्मेलीखोलामा बर्खाको चार महिना यातायातका साधन वारपार गर्न सक्दैनन् । बर्खाको समयमा खोला बढेपछि अहिले एक घण्टा बढी समय खर्चेर घुमाउरो बाटो भातखाने डाँडा पुग्नुपर्ने बाध्यता छ ।
घुस्मेली खोलामात्रै हैन गाउँपालिकाभर बाहै्रमास सहज ढङ्गले सवारीसाधन चल्नका लागि १२ पक्की पुल आवश्यक रहेको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो । बाह्र पक्की पुल निर्माण गर्न रू ३० करोडभन्दा बढी खर्च लाग्ने पालिकाको अनुमान छ । पालिकाले पुल निर्माण गर्न नसक्दा प्रदेश र सङ्घीय सरकारमा माग गरिँदै आए पनि अहिलेसम्म एउटा पुलको योजनासमेत नपरेको अध्यक्ष विकको भनाइ थियो ।
“पालिकाभित्र एउटा मात्रै पक्की पुल छ, अहिले पालिकाले तीन कजवे(अस्थायी पुल) बनाएर यात्रालाई सहज बनाएका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाभर १२ पक्की पुल आवश्यक छ । पालिकासँग पुल बनाउने बजेट छैन । प्रदेश र सङ्घीय सरकारलाई बजेट माग गर्दै आए पनि हालसम्म योजना पर्न सकेको छैन ।” उहाँले यस वर्ष पनि पालिकाले दुई वटा कजवे बनाउने उद्देश्य लिएको जानकारी दिनुभयो । अध्यक्ष विकका अनुसार ताराखोलामा पुललाई पहिलो प्राथमिकता राख्न प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्दै आइएको छ ।
हिउँदको समयमा खोला सानो हुँदा १५ मिनेटमै गाउँपालिकाको केन्द्र भातखाने डाँडाबाट घुस्मेली आए पनि अहिले खोलामा पुल नहुँदा एक घण्टाको घुमाउरो सडक प्रयोग गर्न बाध्य भएको स्थानीय तारा थापाले बताउनुभयो । “सडक कच्ची भएर त्यति समस्या छैन जति पुल नहुँदा छ । यहाँ धेरै खोला पार गर्नुपर्ने, बर्खामा खोला नतर्दा यातयात नै ठप्प हुन्छ”, उहाँले भन्नुभयो, “यहाँका एक दर्जन खोला र खोल्सामा पक्की पुल बनेमात्रै बाह्रेमास यात्रा सहज हुनेछ ।”
चार वर्षअघि ताराखोलाको साँघुबोटमा पक्की पुल बनेको थियो । थपाले ठूलोखोलामा पालिकाले अहिले कजवे निर्माण गरेर सञ्चालन गरिरहेको जनाउँदै पालिकाले गत वर्ष दोगाडीघाँट र धपाङघाटमा कजवे निर्माण गरेपछि यात्रा सहज भएको बताउनुभयो ।
चालु वर्षमा पालिकाले समस्याग्रस्त स्थानमा प्राथमिकताका आधारमा कजवे निर्माण गरेर यात्रा सहज बनाउने उद्देश्य अनुरुप योजना बनाइरहेको अध्यक्ष विकले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले रू १७ लाखदेखि रू २२ लाखसम्मको अस्थायी पुल निर्माण गर्ने लक्ष्य लिएको हो ।
ताराखोलामा घुस्मेली, वडा नं १ को मस्याङ्दी, वडा नं २ को कुवाधुने, वडा नं ३ को बगर, दलमचौर, दोगाडी खोला, छेल्लर, छेजी, बुङ्दीघाट, मपेश, तलिम र सिप खोलामा पक्की पुलको आवश्यक रहेको अध्यक्ष विकले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि बर्सेनि माग गरे पनि चार वर्षयतादेखि कुनै योजना पर्न सकेको छैन । पुल नबन्दा बर्खामा यहाँका बासिन्दा मर्कामा पर्ने गरेका छन् । बर्खाको समयमा खोलामा पानी बढ्दा बिरामीलाई तत्कालै अस्पताल पठाउनसमेत असहज हुने स्थानीय वसन्त विकले बताउनुभयो ।
पहिरोले विद्यालय भवन उच्च जोखिममा
अविरल वर्षाका कारण आएको पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय उच्च जोखिममा परेको छ । पहिरोले विद्यालयको तारबारसहितको प्रवेशद्वार नै भत्काइसकेको छ । अहिले प्लाष्टिकले पहिरो छोपेर पठनपाठन गरिएको विद्यालयका प्रधानध्यापक योगेन्द्र हमालले बताउनुभयो ।
‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडक छेउमै रहेको यस विद्यालयमा गत फागुनमा सुख्खा पहिरो खसेको थियो । अहिलेको निरन्तर वर्षाका कारण थप पहिरो गएपछि विद्यालयमा पढाउन नसक्ने गरी भवन जोखिममा परेको उहाँले बताउनुभयो ।
सडक चौडा पार्ने क्रममा फागुनमा पहिरो खसेको थियो । उक्त सडक विस्तारका क्रममा विद्यालयमुनि चट्टान फुटेपछि सुख्खा पहिरो खस्दा विद्यालय प्रवेशद्वारसम्मै पहिरोले क्षति पु¥याएको थियो । पहिरो रोकथामका लागि सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले पक्की पर्खाल लगाए पनि निरन्तरको वर्षाका कारण थप पहिरो गएपछि पठनपाठनमा समस्या भएको प्रधानध्यापक हमालले बताउनुभयो ।
पहिरोले विद्यालय भवन उच्च जोखिममा पर्नुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत समस्या भएको छ । विद्यालय मुनि ४० मिटर गहिरो गरी पहिरो गएकाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत अध्यापनमा समस्या भइरहेको उहाँको भनाइ थियो ।
“सुख्खा पहिरोले विद्यालय उच्च जोखिममा परेको छ, बर्खा नलाग्दै जोखिम न्यूनीकरणको केही काम भएको थियो, पहिरोको जग माथिबाट थप पहिरो जाँदा विद्यालयको प्रवेशद्वार नै पहिरोले लग्यो”, हमालले भन्नुभयो, “पहिरो तत्कालै नरोक्किए विद्यालय भवनै क्षति पुग्ने देखिन्छ, अहिले प्लाष्टिकले पहिरो ढाक्ने मात्रै काम गरेका छौँ ।”
उहाँका अनुसार विद्यालयको पछाडीपट्टीसमेत गत वर्ष आएको पहिरोले विद्यालयको शौचालय र धारामा क्षति पु¥याएको थियो । विद्यालयको पूर्व र पश्चिमपट्टी नै भिरालो जग्गा भएकाले पछिल्लो समय पहिरोको जोखिम झन बढेको उहाँको भनाइ थियो ।