काठमाडौँ । जयवागेश्वरी धा: बाजँ खल:को आयोजना तथा काठमाडौँ महानगरपालिका वडा ८ को सहकार्यमा धा: बाजा प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
शनिवार आयोजित समापन समारोहमा धा: बाजा, भगवान ग्वारा र नित्यनाथ ग्वाराको लगायत अन्य तालहरू सिकेका २१ जना विभिन्न उमेर समुहका नयाँ प्रशिक्षार्थीहरूलाई सम्मान गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडा अध्यक्ष आशामान संगतले,"ऐतिहासिक बाजागाजा संरक्षणका लागि धाः बाजा प्रशिक्षण समापन समारोह आयोजना गरिएको बताउनुभयो ।"
उहाँले विभिन्न उमेर समुहका विशेषगरी ८ वर्षदेखि ५० वर्षसम्मका ब्यक्तिहरूले एकैसाथ बाजा प्रशिक्षण गर्नुभएको बताउनुभयो । महानगरले बाजागाजा संरक्षणका लागि विभिन्न कार्यक्रमहरू अगाडि सारेको र यसैको निरन्तरता स्वरूप यी कार्यहरू गरिएको बताउनुभयो ।
जयवागेश्वरी धा: बाजँ खल:का अध्यक्ष विवेक संगतले काठमाडौँ महानगरपालिका वडा ८ को आर्थिक सहयोगमा बाजा प्रशिक्षण कार्यक्रम समापन गरिएको बताउनुभयो ।
उहाँले, 'गत जेठ ५ गतेबाट शुरूवात भएर श्रावण १९ गते शनिबार बाजा प्रशिक्षण समापन गरिएको बताउनुभयो ।' नयाँ र पुराना गरि विभिन्न धुन तालहरू सिकेका प्रशिर्क्षार्थीहरूलाई बाजा प्रदान गरि खादा र मायाको चिनो हस्तान्तरण गरिएको संगतले बताउनुभयो ।
उहाँले, आफ्नो रितिरिवाज अनुरूप बाजा बजाउँदै पशुपतिनाथ, जयवागेश्वरी र ताम्रेश्वर महादेव मन्दिर परिसर परिक्रमा गरिएको बताउनुभयो । त्यसपश्चात गुरूलाई सगुन दिएर कार्यक्रम समापन गरिएको बताउनुभयो ।
बाजाहरू प्रबोध कसा: समिर संगत, सन्ध्या संगतले प्रशिक्षार्थीहरूलाई सिकाउनु भएको थियो । उहाँहरूले प्रशिक्षार्थीहरूलाई धा बाजा अन्तरगत भगवान ग्वारा, नित्यनाथ ग्वारा र धा बाजाको अन्य तालहरू प्रशिक्षण गराउनुभएको थियो ।