डेंगीबाट ४ र नयाँ भाइरस इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु

दक्ष खबर 16544+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

काठमाडाैँ । डेंगीका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराउनुभएको हो । मन्त्री पौडेलका अनुसार ६ हजार ८३१ जनामा डेंगु संक्रमण भएको र ७५ जिल्लामा फैलिएको छ ।

डेंगी नियन्त्रणका लागि सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरु अघि बढाइरहेको मन्त्री पौडेलले बताउनु भयो । त्यस्तै झाडा पखालाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मा ४ जनाको मृत्यु भएको र जसमा एउटै परिवारका ३ जना रहेका छन् । सोको कारण पत्ता लगाउने काम भइरहेको स्वास्थ्यमन्त्री पौडेलले बताउनुभयो ।

जापनिज इन्सेफलाइटिस नयाँ प्रकोपका रुपमा नेपालमा भित्रिएको र जसबाट चितवन र कैलालीमा ३ जनाको मृत्यु भइसकेको बताउनु भयो । उहाँले जापनिज इन्सेफलाइटिसको शंकास्पद केसको संख्या ६२७ रहेको छ । त्यस्तै २८ जनामा पुष्टि भइसकेको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो । 

मन्त्री पौडेलले भन्नुभयो, ‘अहिले पछिल्लो समय हाम्रो बढी जोडिएको र सावधानी अपनाउनुपर्ने विभिन्न विषयहरुमध्येमा सरुवा रोग, महामारीजन्य रोगहरुको बारेमा विभिन्न विषयहरु बाहिर आइरहेको छ । यसमा तथ्यगत अवस्था कस्तो छ भने अहिले डेंगी ६ हजार ८३१ जना यो रोगबाट संक्रमित हुनुभएको छ । 

४ जनाको मृत्यु भएको छ । यो ७५ जिल्लामा फैलिएको अवस्था छ । यसलाई हामीले नियन्त्रण गर्नका निम्ति सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरु अघि बढाइरहेका छौँ । झाडा पखालाको सन्दर्भमा बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ गेलीमा ४ जनाको मृत्यु भएको र एकै परिवारको तीन जनाको मृत्यु भएको अवस्था छ । 

यसको कारण के हो ? पत्ता लगाउने प्रयास भइरहेको छ । जापनिज इन्सेफलाइटिस यसको पनि प्रकोप देखिएको स्थिति छ । यसको शंकास्पद केसहरुको संख्या ६२७ रहेको छ । निश्चित भएको २८ छ । ३ जनाको मृत्यु भएको छ, कैलाली र चितवनमा । त्यसैले यो नयाँ अर्को प्रकोप पनि देखिएको छ ।’

मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने योजनाअनुसार अघि बढिरहेको बताउनु भयो । उहाँले सिंहदरबार वैद्य खानालाई थप स्तरोन्नति गरी २० किसिमका आधारभुत आयुर्वेदिक औषधिको उत्पादन गर्नेगरी काम शुरु गरिएको जानकारी दिनुभयो । 

उहाँले वीर अस्पतालमा सुविधा सम्पन्न जलन उपचार वार्ड सञ्चालनमा ल्याइने गरी तयारी गरिरहेको बताउनु भयो । जलन उपचार सेवामा १ लाख दिने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयलाई सिफारिस गरेको बताउनुभयो ।

 यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जापनिज इन्सेफलाइटिसमा नियमित खोप कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । उहाँले प्रकोप भएका बेलामा खोप लगाउन नहुने जानकारी गराएको पनि बताउनुभयो ।

छुटेको र पाँच वर्षसम्मको बालबालिकालाई खोप लगाइरहेको बताउनु भयो । बंगुर र हाँस पालनबाट जापनिज इन्सेफलाइटिस देखिएको उल्लेख गर्नुभयो । लामखुट्टेबाट आयो भनेपनि सुँगुर, बँगुर र हाँस पालनबाट आएको जानकारी दिनुभयो । 

सचिव पोखरेलले राज्यले वर्नरसिप लिएको कार्यक्रमको सिर्जित दायित्व राज्यले नदिँदा काम गर्न कठिन भएको बताउनु भयो । उहाँले स्वामित्व लिइसकेपछि पूरा गर्नुपर्ने बताउनु भयो । आमा सुरक्षा कार्यक्रममा सिर्जित दायित्व पूरा गर्न नसक्दा काम गर्न कठिन भएको बताउनु भयो ।  न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार