संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक छ : सभामुख देवराज घिमिरे
२८ मंसिर
२०८१, शुक्रबार
काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ ।
अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आज यहाँ आयोजित समारोहमा उहाँले संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तिव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता औँल्याउनुभयो ।
“समयापेक्ष ऐन निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग जुटाएर पहलकदमी लिन जरुरी छ”, सभामुख घिमिरेले भन्नुभयो । सीमित साधन, स्रोतका बीच पनि संसद् सेवाका कर्मचारीले सम्पादन गरेको कार्यको प्रसंशा गर्दै उहाँले संसद्को महत्व साकार पार्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
“अपुरा कानुनलाई पूरा गर्ने, आइरहेका चुनौतीलाई सामना गर्नका लागि सुधारका विभिन्न योजना बढाइएको छ, संसद् सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको छ”, सभामुखले भन्नुभयो, “संसद् सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने विभिन्न क्षेत्रका कामहरूका सूची तयार गरौँ, यसलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकालाई सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्छ ।”
संसद्को गरिमालाई उँचो बनाउन गरिएका प्रयत्न र प्रयास अपुग भएका उल्लेख गर्दै सभामुख घिमिरेले जनताको सर्वोच्च संस्था संसद्को गरिमा जति बढ्न सक्यो, यसको कामकारबाही त्यति प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । “संसद्को कामकारबाही जति प्रभावकारी हुन्छ, सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुन्छ । संसद्लाई प्रभावकारी बनाउने, राज्यलाई निर्देशित गर्ने, कानुन निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने खाँचो छ”, उहाँले भन्नुभयो ।