काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ अन्तरगत जयवागेश्वरी परिसरमा रहेको ऐतिहासिक इनारको उत्खनन गरिएको छ । करिव एक सय वर्ष पुरानो ऐतिहासिक इनारको वडा ८ ले उत्खनन गरिरहेको हो ।
हालसम्म उक्त इनारको ६५ फिट उत्खनन गरिएको र अझै उत्खनन कार्य जारी रहेको काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले बताउनुभयो । उहाँले, स्थानीयहरूकै पहलमा उक्त स्थानमा ऐतिहासिक इनार रहेको भन्ने थाहा भएपछि उत्खनन कार्य अगाडि बढाइएको बताउनुभयो ।
त्यस्तै, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू उत्खनन, सम्बद्धन र मौलिक स्वरूप बचाईराख्न काठमाडौँ महानगरपालिका हरदम तयार रहेको संगतले बताउनुभयो ।
पहिला इन्द्रेश्वर महादेवलाई हाल उत्खनन गरिएको इनारको जलले स्नान गराउने प्रचलन रहेको र स्थानीयहरूको बस्ती विकासक्रम सँगसँगै इनारको मौलिक स्वरूप नै मासिएको वडाअध्यक्ष संगतले बताउनुभयो ।
उहाँले, वडा भित्र रहेका ऐतिहासिक इनार, कुवाँ, धारा, पाटीपौवा, डवली, मठमन्दिर लगायतका पुरातात्त्विक वस्तुहरूको मौलिकता जोगाइराख्न काठमाडौँ महानगरपालिका तयार रहेको बताउनुभयो ।
हाल इनार करिव ६५ फिट गहिराई उत्खनन गरिएको छ भने उत्खननका शुरूवाती क्रममा पानी निस्किए पनि अहिले भने, पानि निस्किएको छैन । ऐतिहासिक बस्तुहरूको उत्खननमा वडा ८ ले महत्त्व पूर्ण भुमिका खेलिरहेको स्थानीयको भनाई रहेको छ ।
यो सँगसँगै कामपा ८ नवाली टोल ताम्रेश्वर मन्दिर परिसरमा हरेको ऐतिहासिक एवं पुरातात्त्विक इनारको पनि उत्खनन कार्य जारी रहेको छ भने, नवालीटोलमा रहेको ३२४ बर्ष पुरानो ग्वल: दे फल्चा तथा नरसिंह पाटीको पुनर्निर्माण गरि समुद्घाटन गरिएको छ । त्यस्तै, नवाली टोलमा नै रहेको रावण पाटीको पुनः निर्माण भईरहेको छ ।
करिव ८१ वर्ष अगाडि २००० वर्षमा आर्मीले तयार पारेको नक्सालाई नेपाल सरकारले आधिकारिकता नदिएपछि २०२१ सालमा पुनः नापी गरिएको थियो । त्यसै नापीलाइ हाल सरकारले आधिकारिकता प्रदान गरेको थियो । त्यसै क्रममा नेपालको नक्साकन ब्रिटिष्टहरूले समेत गरेका थिए भने, भारत सँगको सिमानाको नक्साहरू बिटिष्टले नेपाललाई प्रदान नगरेपछि हाल बेलाबखत नेपाल र भारत बिच सिमानाको बिषयलाई लिएर विवाद पनि उत्पन्न हुने गरेको छ ।