काठमाडौँ । ‘सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई काठमाडौँ महानगरपालिकाले सम्मान गरेकाे छ । उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गरेकाे हाे ।
खेलाडीहरूलाइ नगदसहितको सम्मान प्रदान गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, ‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन । खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो । यसकारण, तपाईँहरुको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’
सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ हुनुहुन्छ । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव हुनुहुन्छ । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट हुनुहुन्छ ।
सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गर्नुभयो । ‘सन् २०१७ मा स्थापना भएको मध्य एशियाली भलिवल एशोसिएसनको पहिलो वर्षमा नेपालले स्वर्ण पदक हासिल गरेको थियो । महानगरपालिकाको सहयोगबाट हामी त्यो स्थानका लागि प्रयत्न गर्नेछौँ ।’ भट्टको भनाइ थियो ।
काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३-२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय गरेको थियो । खेलमा ५ वटा देश सहभागी थिए । सन् २०१९ मा भएको १३ औँ दक्षिण एशियाली खेलकुदको भलिवल खेलमा पनि नेपालले यही अवस्थाको सामना गर्नु परेको थियो । उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० सोझो सेटमा हराएको थियो ।
भारतलाई फाइनलमा हराउन सकेको भए नेपाली महिला भलिबल इतिहासमा ठूलो उपाधि हुने थियो । यो उपाधि प्राप्त गर्न नेपालले खेललाई अझ सशक्त बनाउँदै अर्को प्रतियोगिताका लागि प्रतिक्षा गर्नु पर्ने भएको छ ।