देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर आजदेखि उठ्न थाल्यो 

GrihaSewa Pvt.Ltd. 65+ समाचार ( )
११ वैशाख २०८०, सोमबार

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर आजदेखि उठ्न थालेको छ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सर्वोच्च अदालतले दिएकोआदेश पालना गर्ने जनाएसँगै फोहोर उठ्न थालेको हो ।

सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले फोहोर उठाउन आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार आजदेखि नै सिंहदरबारको फोहोर उठाउन थालिएको हो । परिवर्तन सेवा कम्पनीले आजदेखि फोहोर उठाएको छ । यसअघि फोहोर नउठाउँन कम्पनीलाई मेयर साहले कडा निर्देशन दिनुभएको थियो । त्यसपछि सिंहदरबार, राष्ट्रपति कार्यालय शितल निवास लगायका ठाउँमा फोहोर उठ्न बन्द भएको थियो । 

यस्तै मेयर साहले अदालतले दिएका आदेश महानगरले मात्र नभएर संघीय सरकारसहित सबैले पालना गर्नुपर्ने तर्क गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत साहले सर्वोच्चले संघीय सरकारलाई दिएका आदेश पालना नगरेको पनि आरोप लगाउनुभएको हो ।

सर्वोच्च अदालतबाट भएका वाग्मती, विष्णुमती र मनोहरा तथा यिनका सहायक नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरू भत्काएर नदीको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउनेसम्बन्धी २०५७ असार ९ गतेको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जा सम्बन्धी दुई दशक अगाडिको आदेश संघ सरकारले नमानेको उनले बताएका छन् ।

महानगरवासीको पक्षमा सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरूको पालना नभएको विषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको बताउनुभयो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार