काठमाडौँ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठक पनि बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आईतवार दिउँसो सिंहदरवारमा बोलाउनुभएको सर्वदलीय बैठकमा पनि संसद सुचारु गराउने विषयमा सहमति बन्न नसकेको हो । जसरी पनि संसद बैठक सुचारु गराउनुपर्छ भन्ने विषयमा कुराकानी भएको र भोलि बस्ने बैठकबाट त्यसमा सहमति हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।
बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआईवीको अनुसन्धान प्रभावित हुने भएकाले अन्य छानबिन समिति तत्कालका लागि बन्न नहुनेमा जोड दिनुभएको थियो । अनुसन्धानले गति लिएकाले त्यसको प्रतिवेदन नआउँदासम्म पर्खन उपयुक्त हुने कुरा बैठकमा गृहमन्त्रीले राख्नुभएको पनि लामिछानेले बताउनुभयो । उहाँले आफ्नो पार्टीले भने संसद सञ्चालन गरेर जानुपर्ने कुरामा जोड दिएको पनि बताउनुभयो ।
उहाँले, ‘एकदमै धेरै नजिक पुग्यौं । जे कुरामा डिस्कस गर्नुपर्ने थियो । त्यो कुरामा नजिक पुग्यौं । फेरि आज एमाले अध्यक्ष अस्वस्थ हुनुभएका कारण उपस्थित हुन पाउनुभएन । यद्यपि जे जस्ता असहमतिका कुराहरु थिए । ती कुराहरुमा एकदम छलफल भयो । र, एकदम नजिक पुगेको हुनाले अव एउटा बैठकमा टुंग्याउने गरी भनेर सम्भवत भोलि बस्ने बैठकले यसलाई टुंगोमा पुयाउने र बटमलाईन चाहीँ सदन जसरी पनि खोल्ने भन्ने तहसम्म हामीले छलफल गर्यौं ।'
उहाँले, ‘आजको बैठक सायद स्थगित हुन्छ । प्रमुख प्रतिपक्षको चाहीँ उच्चस्तरीय छानबिन समिति गठन हुनैपर्छ भन्ने एउटा लाईन थियो । सरकारको तर्फबाट गृहमन्त्री पनि सहभागी हुनुहुन्थ्यो । र, अनुसन्धानले एउटा गति लिएको छ । र, एउटा आफ्नै ढंगले अगाडि बढेको छ । प्यारालल्ली ढंगले अर्को संयन्त्र बनाउँदाखेरी अर्को आयोग वा समितिहरु बन्दाखेरी त्यो प्रभावित हुन्छ कि । अब धेरै दिन बाँकि पनि छैन । गृहमन्त्रीले माग्नुभएको समय कम छ । त्यसले गर्दाखेरी त्यो समयसम्म हेर्ने कि । भन्ने विषयसम्म हामी आई पुगेका छौं । हामी अहिले त्यसलाई प्रभावित नहुने ढंगले अर्को समिति बनाउने हो कि अथवा होइन यो १५ दिन हेरौं । यसमा चित्त बुझेन भने गराैँ । हामी यो दुइटा ठाउँमा आईपुगेका छौं ।'
उहाँले, ‘अर्को छानबिन समिति बनाउनुपर्ने कुराहरु पनि उठे । हामीले के याद गर्नुपर्छ भने भइरहेको अनुसन्धानलाई कुनै न कुनै ढंगले प्रभावित नहोस् । भइरहेको अनुसन्धान गर्ने अधिकारीहरुलाई नैतिक रुपमा पनि कुनै पनि किसिमको दवाव नहोस् भन्ने कुरालाई पनि मध्यनजर राख्नुपर्ने हुन्छ । त्यसले गर्दाखेरी अहिले जति समय बाँकि छ ।'
बाँकि त १५ दिन न रह्यो । त्यसमा के गर्ने भन्ने रह्यो । हाम्रो लाईन चाहीँ के भने जे जस्तो भएतापनि यदि समिति बनाउने हो भनपनि बनाउँदा फरक परेन । नबन्दाखेरी पनि सिआईबीले काम गरेको छ, छैन रु कुन ढंगले गरेको छ रु प्रश्न गर्न पाउनुपयो । संसद खुल्नुपयो । यो खुल्यो भने हामीले गृहमन्त्रीलाई यो प्रश्न गर्छौं । अनुसन्धानमा भएका कमीकमजोरीबारे प्रश्न गर्न पाउँछौं । त्यो गर्नुपयो । तर संसद चाहीँ अवरुद्ध हुनु भएन भन्ने लाईन चाहीँ राष्ट्रिय स्वतन्त्र पार्टीको लाईन हो । जे छलफल गर्नुपर्नेछ । त्यो सदनमा गरौं । भोलि सहमतीमा पुग्छौं भन्ने मलाई विश्वास छ ।
रास्वपा सभापति लामिछानेका अनुसार भोलि फेरि बैठक बस्ने र दलहरुबीच संसद खुलाउने विषयमा सहमति जुट्नेछ । प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुदैँ आएको छ ।