महाशिवरात्रिमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
१५ माघ २०८१, बिहीबार
काठमाडौँ। महाशिवरात्रिको दिन आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।
पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “महाशिरात्रिका दिन पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।”
पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पशुपतिनाथको दर्शनका लागि बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको थियाे । भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिएको थियाे ।