काठमाडौँ । नेपाली सेनाको आयोजनामा सम्पन्न लघु चलचित्र प्रतियोगितमा पुरस्कृत लघु चलचित्रहरू ’कस्तुरी’, ’डोल्मा’, र ’सेनाको सन्तति’ प्रदर्शन गरिएको छ । रातोपुलस्थित ओजस थिएटरमा आयोजित एक कार्यक्रमका बिच लघु चलचित्रहरू प्रदर्शन गरिएको हो । नेपाली सेनाले आयोजना गरेको प्रतियोगिता २०२३ मा ’कस्तुरी’ प्रथम भएको थियो भने, ’सेनाको सन्तती’ तेस्रो र ‘डोल्मा’ २०२२ को प्रतियोगितामा तेस्रो भएको थियो ।
चलचित्रमा सेनाले समाज र जनताको सेवामा पुर्याउँदै आएको योगदानको विषय समेटेको छ । रविन दोङको निर्देशनमा बनेको ’कस्तुरी’ मा कृष्ण भक्त महर्जन, मञ्जु गिरी, सागर कार्की, प्रमोद बाबु, अश्मिता मगर, अलिसा न्यौपाने, आदेश तामाङ, रिकेश बडवाल, हर्क मगर, पंकज सार्कीको अभिनय रहेको छ । आरभ दाहाल र सौरभ कार्कीले भने, बाल कलाकारको भूमिकामा अभिनय गरेका छन् ।
रविन दोङको निर्देशनमा बनेको ’डोल्मा’मा रोशनी लामा, बिरूप घले, ज्योति राई, कृष्ण रिमाल, भारत मगर, सुवास राई, युवराज घिमिरेलगायतको अभिनय रहेको छ । त्यस्तै, गृष्मा श्रेष्ठ निर्देशित ’सेनाको सन्तती’ मा गङ्गा मगर, मलिना मगर, सुवाष राई, अस्मिता ढकाल, प्रभाव शाही, सावित्र मगर, सन्जीब तामांग, वर्षा सारु मगरलगायतको अभिनय रहेको छ । सुप्रिम राई र रोयल राई फिल्मका बाल कलाकारका रूपमा रहेका छन् ।
ओजस थिएटर एन्ड फिल्मले नयाँ नाटकको घोषणा गरेको छ । वैशाख २० बाट ’मृत्यु कुण्ड’ नाटक मञ्चनको तयारी थिएटरले गरिरहेको छ ।