कञ्चनपुर । वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आउनुभएको छ । असार २३ गते राति कनकट्टी खोलामा आएको बाढीले घरभित्रको सबै सामान बगाएर लगेपछि धामी विद्यालयमा बस्दै आउनुभएको हो ।
खोलाको बाढी बस्तीमा छिरेपछि रातीका बेला घर छाड्न बाध्य भएका यहाँका ७९ परिवारमध्ये आठ परिवार वडाका दुईवटा विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । बाढीको पानी घटेपछि ७१ परिवार भने घर फर्किसकेका छन् । आठ परिवार भने बाढीबाट घरबारविहीन भएकाले अझै पुनर्वास हुनसकेका छैनन । विद्यालयमा छुट्टीको समय भएकाले बाढी प्रभावित परिवारलाई अस्थायी रुपमा बस्ने प्रबन्ध गरिएको छ । यी परिवारलाई नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न, भाँडाकुँडा र त्रिपालको व्यवस्था गरेको छ ।