काठमाडौं I प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताउनुभएको छ ।
नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको बाटोमा अघि बढन नदिने प्रयासहरु भईरहेको प्रधानमन्त्री ओलीको भनाई थियो । नेकपा (एमाले)ले शनिवार काठमाडौंमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदढीकरण कार्यशाला गोष्ठीमा बोल्दै उहाँले राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको यसअघि आफूले नदेखेको अनुभुति पनि सुनाउनु भयो । राजतन्त्र हुँदा केही पदधारी पञ्चहरु कराउने गरेको भएपनि अहिले आशाधारीहरुले राजतन्त्रको पक्षमा बोलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने काममा अवरोध खडा गर्ने प्रयास गरिरहेको बताउनु भयो । उहाँले कुनैपनि सत्य र तथ्यको बाटोमा नहिँडेकाहरुले मुलुकमा भ्रम छर्ने प्रयास गरिरहेकाले त्यसलाई चिरेर अघि बढ्नुपर्ने कुरामा सरकार सचेत रहेको पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइन पहिलेपहिले । राजतन्त्रनै हुँदाखेरी पनि केही केही पञ्चहरु जम्मा हुन्थे । र कराउँथे । तर त्यो एउटा औपचारिक कराई हृुन्थ्यो । अहिले त्यो भन्दा बढि पदधारी होइन, आशाधारीहरु । अहिले पदधारी कराईरहेका छैनन । पहिला पञ्चायतका बेला राजतन्त्र हुँदा पदधारीहरु कराउँथे ।
अहिले पदधारी होइन । वर्तमानमा केही पाएकाहरु होइन कि आशाधारीहरु छन् । तिनीहरु कराईराखेका छन । त्यसो भएर नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा अगाडि बढ्न नदिने प्रयासहरु भईरहेका छन । र, नेपाललाई विकास र समृद्धिको अगाडि बढनै नदिने प्रयासहरु भईरहेका छन् । यसरी नेपाली जनताको जुन समृद्ध नेपालः सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा हो । त्यसलाई सफल हुनै नदिने भनेर कतिपय कोही जानेर होलान, कोही नजानेर होलान । कोही योजनावद्ध ढंगले होला, कोही लहैलहमा होला । तर एउटा माहौल खडा गर्ने कोशिस भईराखेका छन् । उनीहरुसँग कुरा सत्य र तथ्यको बाटो हुँदैन ।’
प्रधानमन्त्री ओलीले देशलाई अघि बढ्न नदिनहरुबाट सजग भएर अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।