खेललाई पर्यटनसँग जोड्दैछौँः मुख्यमन्त्री पाण्डे
२३ मंसिर
२०८१, आइतबार
लेखनाथ I गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पयटकीय राजधानी पोखरामा खेलकुदलाई पर्यटनसँग जोड्ने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।
पोखराको लेखनाथस्थित आदर्श क्लबद्वारा भण्डार ढिक रङ्गशालामा आयोजना गरिएको फुटबल प्रतियोगिता, २५आँै संस्करणको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले विदेशी पर्यटकलाई लक्षित गरी मुस्ताङ जिल्लामा हाई अल्टिच्यूट खेलमैदान निर्माण गर्न लागिएको बताउनुभयो ।
उहाँले विदेशीहरूका लागि पोखरामा साहसिक खेलका रूपमा प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता खेलहरू रहेका र तिनको व्यवस्थापन गर्दै जाने बताउनुभयो । पछिल्लो समय खेलाडीले नेपालभित्र नाम र दाम कमाउन सक्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले खेलाडीको जीवन सहज होस् भनेर मासिक भत्ताको व्यवस्थासमेत गरेको जानकारी दिनुभयो । “प्रदेश सरकार यहाँ खेलकुदको विकासमा प्रतिबद्ध छ । युवामा खेलप्रतिको भावना वृद्धि गर्दै सरकार अगाडि बढ्नेछ । खेलको माध्यमबाट राष्ट्रिय भावनालाई बलियो बनाउनाका साथै युवालाई सकारात्मक बाटोमा अगाडि बढाउन सकिने भएकाले यस क्षेत्रको विकासमा ध्यानदिन आवश्यक छ”, उहाँले भन्नुभयो ।
यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा समूहले सहभागिता जनाएका छन् । आज आयोजक समूह आदर्श क्लब र एन्फा तनहुँ बीचको खेलमा आदर्श १–० ले विजयी भएको छ ।
प्रतियोगिताको विजेतालाई रु चार लाख २५ हजार पाँच सय २५ र उपविजेतालाई रु दुई लाख २५ हजार पाँच सय २५ पुरस्कार र मेडल प्रदान गरिनेछ । क्लबका अध्यक्ष पदम गुरुङले प्रतियोगिता सम्पन्न गर्न रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो ।
खेलकुदको माध्यमबाट खेलाडीको स्तर तथा मनोबल बढाउनाका साथै लेखनाथमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता हुँदै आएको उहाँको भनाइ थियो ।