रामलक्ष्मण ग्रुपले विकास गरेकाे 'कता हो' डिजिटल ठेगाना प्रणाली सञ्चालनमा आउदैँ

दक्ष खबर 15672+ समाचार ( )
२२ पौष २०८०, सोमबार

काठमाडौँ । नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्न कता हो डिजिटल ठेगाना प्रणाली सञ्चालनमा आउने भएको छ । नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आएको रामलक्ष्मण ग्रुपले यो प्रणालीलाई सञ्चालन गर्न लागेको हो । उक्त ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले यस प्लेटफर्मको औपचारिक सुरुवात क्यान इन्फोटेक २०२४ को पहिलो दिन माघ २५  गते गर्ने जनाइएको छ ।

कम्पनीका अनुसार यस प्लेटफर्मबाट केही समयभित्रै नेपालका हरेक घरको ठेगाना प्लेट तयार गर्न सक्नेछ । यसका लागि देशको सम्पूर्ण भू-भागलाई करिब १५ अर्ब दुई करोड प्लट टुक्रामा विभाजन गरी हरेक टुक्राका लागि नेपाली शब्द र अङ्क मिलाएर एउटा भिन्न नाम दिइएको छ । त्यसरी तयार हुने नामहरू नदोहोरिने, बरु सम्झिन र अरुलाई भन्न सजिलो हुने कम्पनीले जनाएको छ ।

यस प्रणालीको सहायताले जुनसुकै ठाउँ पत्ता लगाएर त्यहाँसम्म पुग्न सकिने कम्पनीको भनाई रहेको छ । कम्पनीले यस प्रणालीलाई नक्शा नभएर जुनसुकै नक्शामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको बताएको छ । आफ्नो ठेगाना बनाउन र पत्ता लगाउन यो प्रणालीले अफलाइनमा समेत काम गर्न सक्ने जनाइएको छ । प्लेटफर्मबाट जोसुकैले आफ्नो घरको ठेगाना प्लेट बनाउन तथा बनाएर आफैँ टाँस्न पनि सक्ने कम्पनीले जनाएको छ ।

यस प्रणालीमा ‘कता हो’ कोड, गुगलको प्लस कोड, डोर बेल बजाउने क्यूआर, आफ्नो निवासको नाम आफैं राख्न सकिने जस्ता विशेषता भएको कम्पनीले जनाएको छ ।  यसबाट घर नम्बर प्लेटमा एकरुपता दिन सकिने साथै प्लेटको स्वामित्व प्रयोगकर्तालाई नै दिइने भएकाले जहिल्यै पनि आफ्नो प्लेट अध्यावधिक राख्न सकिने कम्पनीको भनाइ छ । 

त्यस्तै, नेपाल सरकार, सहरी विकास मन्त्रालय तथा टोल विकास समितिबाट राखिएका घरका नम्बर समेत यो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिने कम्पनीले जनाएको छ । चार वर्षको अनुसन्धानपछि विकास भएको ‘कता हो’ मोबाइल एप तथा वेबबाट चलाउन सकिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार