‘नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ’ : प्रधानमन्त्री
३० मंसिर
२०८१, आइतबार
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख गर्नुभएकाे छ ।
ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै उहाँले, 'ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना गर्नुभयो । राज्यकोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषद्बाट रु १० लाख सहयोगको निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्ने विश्वास दिलाउनुभयो ।'
उहाँले नेवारी संस्कृति र परम्पराले विश्वमा बेग्लै पहिचान दिएर राष्ट्रिय गौरव बढाउन योगदान दिएको बताउनुभयो । आफ्नो मर्यादित संस्कृति र परम्परालाई निरन्तरता दिएकामा धन्यवाद दिँदै धार्मिक र सांस्कृतिक सम्पदालाई प्रोत्साहन गर्न सरकार तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन गर्नुभयो । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीसमक्ष ज्यापु दिवसका लागि यही मङ्सिर १२ गते बालुवाटारमा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको थियो ।