काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, कुमारी घरको संरक्षणका लागि तत्काल प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ । कुमारी घर जीर्णोद्धार अध्ययन समितिको प्रतिवेदन बुझ्दै आज उहाँले, आउँदो बिहीबार सरोकारवाला निकाय र साझेदारहरुका बिच समन्वय बैठक बोलाउन निर्देशन दिनुभएको छ ।
उपप्रमुख डंगोलले, कुमारी घरको छानो चुहिएको सूचना प्राप्त गर्ने वित्तिकै स्थलगत अनुगमन गर्नुभएको थियो । यसपछि सरोकारवाला निकायका अधिकारी बोलाएर कुमारी घरको सामाजिक, सांस्कृतिक तथा प्राविधिक पक्ष अध्ययन गर्न साउन २० गते समिति गठन गर्नुभएको थियो ।
समितिको संयोजकमा पुरातत्व विभागका पुरातत्व विज्ञ पुरुषोत्तम डंगोल हुनुहुन्थ्यो भने सदस्यहरुमा विभागका इञ्जिनियर रोशन डंगोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीमप्रसाद अधिकारी र महानगरपालिकाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य हुनुहुन्थ्यो । उहाँहले आज प्रतिवेदन बुझाउनु भएको हो ।
जीवित देवी कुमारीको बासस्थान भएको घरको छानो चुहिने अवस्थामा पुग्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले, सम्भावित समस्या पूर्वानुमान गर्ने क्षमता बढाउनु पर्नेमा जोड दिनुभयो । ‘यस्ता त्रुटि नदोहोरिउन भन्नेमा हामी सबै चनाखो हुनुपर्छ ।’ उहाँको भनाइ छ ।
प्रतिवेदन भन्छ
तिनै तलाको पर्खालमा चिरा परेको, केही धाम र मेथहरुले ठाउँ छोड्ने अवस्था रहेको, दलिनहरु कीराले खाएर ससाना प्वाल परेको, ठाउँ ठाउँका काठ मक्किएको अवस्था छ । दोस्रो तलाका भित्तेचित्रहरु संरक्षण गर्नु पर्ने अवस्थामा छन् । धाम वाहेक अधिकांश काठका अवयवहरु अग्राखका नभई कुकाठ प्रयोग भएकोले तत्काल जीर्णोद्धार गर्नु पर्ने देखिएको छ ।
झिंगटी छानो चारैतिर ठाउँठाउँमा धसिएको, घुरी चाङ्ग फुटे खसेको, म्बंगचा खसेको, आइरन वेल्ट खुस्केका छन् । कहीँ नभएका अवस्थामा छन् । मुठलहरु खुस्केका छन् । झिगटीहरु खुस्केका छन् । टुँडाल झरेका र मक्किएका छन् । नस नभएको वा भए पनि मक्किएका छन् । अधिकांश मुसीहरु फेर्नु पर्ने अवस्थाका छन् । गजुरको वेस मर्मत गर्नुपर्ने छन् । कोपु थप्नुपर्ने अवस्थामा छ । बुइँगलको पर्खाल जीर्ण भएको छ । फलेक माथि प्लाष्टिक फेल्ट नराखी माटोमा झिँगटी राखेका कारण फलेकहरु कुहिएका छन् ।
प्रतिवेदनले औल्याएको जीर्णोद्धारको प्रक्रिया
श्रीको सेवा पूजालाई अक्षुण्ण राख्दै, खट बाँधेर जीर्णाेद्धार गर्नुपर्ने भागको एकतर्फबाट विस्तारै विस्तारै भत्काउने, यसबाट आएका सामाग्रीहरुको सुरक्षित भण्डारण गर्ने, पुनःप्रयोग गर्न मिल्नेसम्म सामग्रीको अधिकतम पुनःप्रयोग गर्ने समितिले सुझाव दिएको छ । छानाको सम्पूर्ण भागमा प्लास्टिक फेल्ट विछ्याउने, मक्किएका मुसी, लाकासी, फलेकलाई आवश्यकता अनुसार थप गर्न सकिने प्रतिवेदनले औल्याएको छ ।
२०७२ सालको भूकम्प पश्चात तत्काल मर्मत सम्भार नभएको, अन्य विभिन्न समयमा मर्मत सम्भारको काम भएको देखिए पनि विषय विज्ञको उपस्थिति नभएका कारण यसले घरलाई बचाउन नसकेको प्रतिवेदनमा औँल्याइएको छ । मर्मतमा अग्राखको काठ, पक्की इटा जस्ता टिकाउ निर्माण सामाग्रीमा ध्यान नदिइएको, भित्तेचित्रको पुरातात्विक वातानुकुलित संरक्षण हुन नसकेको, घरको पश्चिम तर्फको भाग भासिएको हुँदा छानो मर्मत पश्चात फ्लोर, वाल, झ्याल ढोका लगायतको संरक्षण एकै पटक गर्नु पर्ने देखिएको छ ।
सुझाव र निष्कर्षमा समितिले झिँगटी, पर्खाल, काठ लगायतका छानासँग सम्वन्धित अवयवहरुको जीर्णाेद्धार गर्न १ करोड १६ लाख ३ हजार ९३३ रुपियाँ लागत अनुमान गरेको छ । यो लागत आर्थिक वर्ष २०८१÷८२ को दररेट राखेर गणना गरिएको हो ।
श्री कुमारी घरको ऐतिहासिक पृष्ठभूमि
राजा जय प्रकाश मल्लका पालामा वि. सं. १८१४ मा यो घर निर्माण गरिएको हो । हनुमानढोका दरबार परिसर, वसन्तपुरस्थित काष्ठकला र वास्तुकलाले सुसज्जित नेवारी शैलीको यो घर कुँदिएका धाम झ्याल, मेथको कलात्मक सौन्दर्यले भरिएको छ । प्रवेशद्वारमा प्रस्तरका जोर सिंह, भित्री भागमा खुला चोक (वहाल), तान्त्रिक भित्तेचित्र संरक्षित तीन तले चौघेरा संरचना सहित झिंगटी छाना भएको घर बसन्तपुर क्षेत्रको स्मारक हो । यो घर तलेजु भवानीको अवतार मानिने जीवित देवी श्री कुमारीको निवास हो ।