पाटन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानअनुसार पार्टीको सर्वोत्तम हित र प्रजातान्त्रिक मूल्य तथा मान्यतालाई स्वीकार्ने भ्रातृ संस्थाका साथै शुभेच्छुक संस्थाले पनि समयमा अधिवेशन गरेर गतिशील बन्नुपर्नेमा जोड दिनुभएकाे छ ।
पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीको शुभेच्छुक सङ्घ समन्वय विभागलाई शुभेच्छुक संस्थाका लागि आवेदन दिएका विषयमा अध्ययन गरेर केन्द्रीय समितिमा पेस गर्न आग्रह गर्नुभयो ।
“पार्टीको नेतृत्वलाई सुझाव दिने र सांसदलाई ज्ञान दिने काममा शुभेच्छुक संस्थाहरूको भूमिका हुन्छ । यस्ता संस्था पार्टीको मूलधारमा नभए पनि पार्टी नेतृत्वलाई सुझाव दिएर सुधार्ने क्षमता राख्छन्”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले पार्टीको जिम्मेवारीमा रहेका मानिसहरू शुभेच्छुक संस्थाको जिम्मेवारी र नेतृत्वमा बस्न नहुनेमा जोड दिनुभयो ।