काठमाडौँ । हामी भगवान् रामको कथा जति पटक हेर्छौं र सुन्छौँ, त्यति नै पटक त्यो नयाँ लाग्छ । कुनै पनि धार्मिक प्रसङ्गमा रामको कथा उल्लेख हुनासाथ हामीमाझ निर्देशक रामानन्द सागरले निर्माण गर्नुभएको रामायणको दृश्य सजीव रूपमा आउँछ तर धेरै नयाँ पुस्ताले भने त्यो अवसर पाउन सकेका छैनन् । पौराणिक महाकाव्य रामकथासँग नयाँ पुस्तालाई परिचित गराउन निर्देशक ओम राउतल चलचित्र ‘आदिपुरुष’ पस्कनुभएको छ ।
चलचित्र ‘आदिपुरुष’ को शाब्दिक अर्थ प्रथम पुरुष हो । चलचित्रमा (राम) प्रभास, अभिनेतृ सीता (कृति सेनन) र लङ्केश (सैफ अली खान) प्रमुख भूमिकामा देखिनुभएको छ। चलचित्रका अन्य कलाकारमा सनी सिंह, देवदत्त नागे र वत्सल सेठ पनि मुख्य भूमिकामा छन् ।
चलचित्र हिन्दीका साथै नेपाली, तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा पनि प्रदर्शन भएको छ । पाँच अर्ब भारुको बजेटमा निर्माण यो चलचित्र सबैभन्दा महँगो भारतीय चलचित्रमध्ये एक हो । चलचित्रमा अनौठा किसिमका भिएफएक्स र विशेष भिजुअल इफेक्टहरू छन् जुन अन्य चलचित्र कमै देखिन्थ्यो । चलचित्रभित्र प्रत्येक पात्रलाई धार्मिक भावना अनुरूप निकै सूक्ष्म रूपमा भूमिकामा ढालिएको छ ।
पौराणिक महाकाव्य रामायणमा आधारित चलचित्रले अयोध्याका राजा राघव (राम)को कथा भन्छ । कसरी लङ्केश (रावण) ले राघवको पत्नी सीतालाई अपहरण गर्छन् र राजा राघवले लङ्केशलाई मारेर सीतालाई फिर्ता ल्याउन के कसरी लडाइँ गर्छन् भन्ने कथालाई चलचित्रमा बेजोड ढङ्बाट चित्रण गरिएको छ । चलचित्रको मुख्य विशेषता भनेकै राम र रावणबिचको युद्ध नै हो । चलचित्रमा देखाइने यो लडाइँले दर्शकलाई उत्साहको उत्कर्षमा पु-याउँछ ।
चलचित्रमा नायक प्रभासको शारीरिक सुगठन धेरै प्रभावशाली देखाइएको छ । उहाँको शारीरिक कद निकै राम्रो हुनुका साथै परिस्थिति अनुसार उहाँले आफ्नो अनुहारको हाउभाउमा धेरै परिवर्तन गर्नुभएको छ । प्रभास साउथ इन्डियन अभिनेता भए पनि उहाँको हिन्दीमा संवाद गज्जबको लाग्छ ।
उहाँले हरेक संवादलाई निकै सरल र राम्रोसँग प्रस्तुत गर्नुभएको छ । अर्कोतर्फ जानकीको भूमिकामा कृति सेनन सुन्दर र आकर्षक देखिनुभएको छ । उहाँको काम उत्कृष्ट छ। रावणको भूमिकामा सैफ अली खानलाई सुहाएको छ। उहाँले आफ्नो अनुहारमा क्रोध, अहंकार, बासना र आशक्तिका भावनालाई उत्कृष्ट रूपमा चित्रण गर्दै राम्रो अभिनय गर्नुभएको छ । सैफले आफ्नो स्वरलाई भारी बनाउन सफल भएको हुनुहुन्छ । उहाँले बोलेको संवाद दर्शकले अवश्य नै रुचाउने छन् ।
रावण वेद र पुराणका जानकार र शिवका परम भक्त थिए तर पनि उनको एउटा गल्तीले उनको सम्पूर्ण परिवार नष्ट भयो । हरेक कलाकारका लागि यति धेरै तहहरू भएको चरित्रमा ढाल्नु चुनौतीपूर्ण हुन्छ र दर्शकको अपेक्षा अनुरूप जीवनमा जोखिम मोल्न सायद कसैले चाहँदैन । चलचित्रमा ‘लक्ष्मण’ का रूपमा सनी सिंह, ‘बजरङ्ग बाली’ का रूपमा देवदत्त नागे र ‘इन्द्रजित’ का रूपमा वत्सल सेठ रहनुभएको छ। जो चलचित्रमा निकै आकर्षित देखिनुहुन्छ ।
उहाँहरूको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ। चलचित्रमा सञ्चित बलहारा र अङ्कित बलहराको सङ्गीत रहेको छ, जुन तत्कालीन युग अनुसार निकै सुमधुर मिलेको छ । पौराणिक चलचित्रमा सङ्गीतको विशेष महत्व हुन्छ किनकि पौराणिक कालका राजा स्वयम् पनि सङ्गीत मर्मज्ञ हुन्थे ।
चलचित्रको सङ्गीत उत्कृष्ट छ। गीतहरू ‘सैराट’ अजय–अतुल र सचेत–परम्पराले लेख्नुभएको हो । चलचित्रमा भिएफएक्स प्रयोग धेरै छ । यसले चलचित्रलाई अझ रोमाञ्चक बनाएको छ । पौराणिक चलचित्र निर्देशन गर्नु आफैँमा चुनौती हो । यद्यपि चलचित्रको निर्देशकीय पक्ष प्रशंसा योग्य छ। निर्देशक राउतले लिनुभएको जिम्मेवारी उच्च कोटीमा मान्नु पर्छ । सुकृत नेपाल/गोरखापत्र