काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा बारुण यन्त्र शाखा कार्यालय भवन निर्माण हुने भएकाे छ । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, काठमाडौं महानगरपालिका वडा-१६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरुले जग पूजा गरेका निर्माण कार्य शुरुवात गर्नु भएकाे हाे ।
२८औँ महानगर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले उद्योग व्यवस्थापन कार्यालय परिसरमा दमकल सेवा शुभारम्भ गनुभएकाे थियाे । यही कार्यालय परिसर (औद्योगिक क्षेत्र प्रवेश मूल द्वारसँगै) शिलान्यास गरिएको हो । भवनको लागत अनुमान ४ करोड ७९ लाख ८९ हजार ६८५ रुपैयाँ गरिएको छ । बोलपत्रबाट ४ करोड ३० लाख ९० हजार रुपैयाँ कबोल गर्ने सबिरा मंगलुग्मा जेभीले निर्माणको जिम्मा पाएको छ ।
भवन डिजाइन गर्ने इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अबलम्बन गरेर बनाइने भवन, अगाडि सडकबाट ३ तला देखिनेछ । पछाडिबाट ५ तलाको हुनेछ । ६ हजार ६६५.९० बर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला १ हजार ३३२ बर्गफुटको हुनेछ । भवनको बाहिरी मोहडामा परम्परागत नेपाली शैलीको महानगरपालिकाका अन्य भवनसँग स्वरुप मिल्ने निर्माण शैली र सामग्रीको प्रयोग गरिनेछ । भित्री भाग आधुनिक शैलीको हुनेछ ।
भवनबाट तत्काल बाहिर निस्कन सक्ने गरी ठूला २ वटा दमकल र एउटा पानीको ट्याङ्कर राख्ने ठाउँ हुनेछ । जमिन मुनि र माथि छतमा गरि १ लाख लिटरको पानी ट्याङ्की रहनेछ छन् । भवनको माथिल्लो तलामा विपद ब्यबस्थापन र सुरक्षाका लागि खटिने जनशक्तिका लागि खेल्ने, योग गर्ने, जिम गर्ने इनडोर स्पोर्टस हल हुनेछ । पहिलो र दोस्रो तलामा सुरक्षाकर्मीहरुका लागि आवास सहितको बस्ने कोठा, भान्छा कोठा र आधुनिक शौचालय हुनेछ । जमिन तलामा दमकल मर्मत कक्ष र सुरक्षा सम्बन्धि सरसामान राख्ने कोठा हुनेछन् ।