उनीहरु सबैजना सुत्नेबेला घडीमा रातको साढे ११ बजेको थियो । “म माइतीमा पाहुना आएको थिएँ । हीराले भन्नुभयो, “धेरैपछि माइतीमा आउँदाको खुसी धेरै थियो । सबैजना सुखदुःखका कुरा गरेर बसिरहेका थियौँ । दाइले अब धेरै रात बित्यो सुत्नुपर्छ भनेपछि हामी सबै सुत्न आफ्नो आफ्नो कोठामा गयौँ । कोठामा भर्खर सुतेका थियौँ, घर हल्लिन थाल्यो एकैछिमा सबै घर तल खस्यो ।”
भाग्यले आफ्नो ज्यान जोगिएकी हीराले बाहिर चिच्यावट आवाज आएपछि मात्रै घर भत्किएको थाहा भएको उहाँ बताउनुहुन्छ । “हामी सबै घरभित्र पुरियौँ । उहाँले भन्नुभयो, “गाउँका बाँचेका दाइभाइ आएर आधा घण्टापछि हामीलाई निकाल्नुभयो,” हीराले भन्नुभयो, “सबै बेहोस अवस्थामा थिए, कोही बाँच्नुभयो भने कोही सधैँको लागि छोडेर गए ।”
दाइभाइ र भदाभदैसँग भेट्न आएकी हीराले सबैसँग भेट्न पाउनुभयो । तर दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ । “कानले सबै कुरा सुनेको थिएँ । भदैनीले फूपु बचाउनुहोस् बचाउनुहोस् भनेको याद ताजै छ, अलि छिटो निकालेको भए सकभर भदैनी बाँच्थिन होला ।”
सरकारले अहिले राहत त दिइरहेको छ । तर पुनःस्थापनाको काम छिटो गरिदिन उहाँको सरकारसँग माग छ । अहिले जाजरकोट र रुकुम पश्चिममा अधिकांश गाउँमा यस्तै पीडामा मानिस रहेका छन् । यो पीडामा मल्हम लगाउनको लागि सरकार र विभिन्न निकायबाट राहत सहयोग त गइरहेको छ । तर राहत वितरणमा ढिलाइ भइरहेको गुनासो पनि छ ।
मनोविदहरुले भूकम्पबाट प्रभावित भएकालाई मनोसामाजिक समस्या देखिनसक्ने जनाउँदै सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । विशेषगरी भूकम्पको त्रासमा रहेको महिला बालबालिकालाई मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यतातर्फ ध्यान दिन मनोविद्हरुको सुझाव छ ।