काठमाडाैँ । काठमाडाैँ महानगरपालिका वडा ६ रामहिटि स्थित साहित्य सदन नेपालको नव निर्मित मूल प्रवेशद्धार र पर्खालकाे उद्धघाटन गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा नव निर्मित मूल प्रवेशद्धार र पर्खालको आज समितिका अध्यक्ष राजकुमार लामाले उद्धघाटन गरेका हुन् ।
उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले साहित्य सदन नेपाल जनस्तरबाट स्थापित प्रतिष्ठान भएको र यसले विभिन्न साहित्यिक कार्यक्रम गर्दै आइरहेको बताए ।
'श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण गर्नुको साथै क्षेत्रमा पर्ने धार्मिक संस्कृतिक सम्पदा संरक्षण र क्षेत्रको विकास निर्माणमा समेत सहयोगी भूमिका खेल्दै आइरहेको छ । सम्पदाहरू मानव समाजको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले पुर्खाले छोडेर गएका सम्पदारूपी नासोलाई संरक्षण गरी भावी सन्ततीलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।'
उनले साहित्यिक क्षेत्रको विकासमा समितिले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै साहित्य सदनको जिर्ण भवन पुननिमार्ण गरी बहुउपयोगी भवनको रुपमा बिकास गर्नको लागी सहयोग गर्ने बताए ।
अध्यक्षताको आसन बाट बोल्दै साहित्य सदन नेपालका अध्यक्ष हेमनाथ पौडेलले साहित्य सदन नेपाललाई जनस्तरको प्रज्ञा–प्रतिष्ठानका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोग र सहकार्यमा अघि बढ्ने बताए । उनले श्री बौद्धनाथ क्षेत्र विकास समितिलाई मूल प्रवेशद्धार र पर्खाल निमार्ण गरिदिएकोमा धन्यवाद दिदै आगामी दिनमा थप सहयोग र सहकार्य गर्दै जाने बताएका थिए ।
साहित्य सदनका अध्यक्ष प्रा.डा हेमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पदाधीकारी, साहित्य सदन नेपालका कार्यसमितिका पदाधिकारी र स्थानियको उपस्थिति रहेको थियाे ।
करिव २५ लाखको लागतमा संस्कृति झल्कने आकृति सहित निर्माण गरिएको उक्त मूल प्रवेशद्धार र पर्खालले सुरक्षा प्रदान गर्नुको साथै साहित्य सदनको पहिचान बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।