काठमाडौँ । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताउनुभएको छ ।
बिआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महत्वपूर्ण मञ्चका रुपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरुलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरुमा लगानी प्रोत्साहन गर्ने एवं विश्वव्यापी रुपमा स्रोत साधनको अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको तर्क छ । ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरु, हवाई यातायात, सूचना प्रविधिलगायत बिआरआईले समेटेका क्षेत्र नेपालमात्र होइन सबैका निम्ति लाभदायक रहेका उहाँको कथन छ ।
“हामीले चीन–नेपाल सम्बन्धको विकासलाई महत्व दिएका छौँ, हामी दुई देशका जनताको हितका लागि अनन्तकालसम्म रहिरहने मैत्री सम्बन्धसहितको चीन–नेपाल विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ बनाउन तत्पर छौँ”, चिनियाँ राजदूतले भन्नुभयो ।