ललितपुर । पाटनको कृष्ण मन्दिर निकैबेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाल्नुभयो । चित्र कोर्न तम्तयार हुँदै गर्दा उहाँले मन्दिरतर्फ फर्केर नमस्कार गर्नुभयो । निकै श्रद्धापूर्वक क्यानभासमा चित्र कोर्न सुरु गर्नुभयो । “मलाई नेपाल निकै मनपर्छ, यहाँ हरेक दृश्य चित्रकला कोर्नलायक छन्”, उहाँले बताउनुभयो ।
पाटनस्थित कृष्ण मन्दिर वरिपरि शनिबार ६० भन्दाबढी विदेशी कलाकारले प्रत्यक्ष दृश्य अवलोकन गरेर चित्र कोरेका थिए । इन आर्ट वल्डको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको ‘कला शाला’ को दोस्रो दिन विदेशी एवं स्वदेशी कलाकारले एकैसाथ कलाकृति सिर्जना गरेका थिए । कला शालामा मात्रै कलाकारले कला सिर्जना गर्नु मात्रै नभई कलाकारमा एकता विस्तार गर्नु अर्को महत्वपूर्ण उद्देश्य रहेको आकार आर्ट सेन्टरकी अध्यक्ष अनिता भट्टराईले बताउनुभयो ।
आइतबारसम्म चल्ने ‘कलाशाला’ मा कलाकारले पशुपति मन्दिर वरिपरिको दृश्यसमेत चित्रमा उतार्ने छन् । यसरी सिर्जना भएका कलालाई आयोजकले प्रदर्शन गरी बिक्री गर्नेछ । बिक्री भएबापतको ५० प्रतिशत रकम एचआइभी सङ्क्रमति बालबालिकाको संस्था ‘बेबी लाइफ होम’लाई सहयोग गरिने आयोजक भट्टराईले बताउनुभयो ।
कलाको व्यापारमा प्रोत्साहन दिन नेपाल जर्मन चेम्बर अफ कर्मस एन्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोषचन्द्र कुँवरले व्यापारी नै उदार भएर कलाको संरक्षण गर्नुपर्ने बताउनुभयो । “कार्यशालामा कलाकारले बनाएका चित्र सकेसम्म बिक्री गराउने हेतु छ”, उहाँ भन्न्ुहुन्छ, “व्यापारीले नै कलालाई माया नगरे कला र कलाकार सङ्कटमा पर्छन् ।”
त्यस्तै, अर्का कला प्रेमी एवं साहित्यकार निर्मल थापाले नेपाली कलाको बजार विस्तार गर्न अन्तर्राष्ट्रियस्तरको सहकार्य हुन जरुरी रहेको सुनाउनुभयो । उहाँका अनुसार कलाको विश्वव्यापीकरणले पर्यटनसमेत आकर्षण गर्न मद्दत गछ्र्र ।