कामपा ८ का वडाअध्यक्ष आशामान संगतको संयोजकत्वमा (येँयाः ११४४) इन्द्रजात्रा मुल समारोह समिति गठन

दक्ष खबर 15668+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतको संयोजकत्वमा येँयाः ११४४ (इन्द्रजात्रा) इन्द्रजात्रा मुल समारोह समितिको गठन भएको छ ।

काठमाडौँ महानगरपालिकाले सम्पदा तथा पर्यटन समितिलाई येँयाः ११४४ (इन्द्रजात्रा) इन्द्रजात्रा मुल समारोह समितिको जिम्मेवारी दिएको हाे । बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले जात्रा सञ्चालन व्यवस्थापनका विषयमा छलफल गर्दै समिति गठन गर्ने निर्णय गरेको हो । मूल समारोह समितिका सदस्यहरुमा सम्पदा तथा पर्यटन समितिका सदस्यहरु रहनु भएकाे छ । सदस्य सचिव विभागका प्रमुख कुमारी राई हुनुहुन्छ । 

काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपन ८ का वडाअध्यक्ष आशामान संगतको संयोजकत्वमा  समितिगठन भएपछि आशामान संगतले, 'स्थानीयले बर्षौँदेखि सञ्चालन गर्दै आएको जात्रालाई साथ र सहयोग उपलब्ध गराउने समितिको मुख्य दायित्व हुने बताउनुभयाे ।' उहाँका अनुसार यसपटक कुमारी रथयात्राका दिन उपत्यका पालिकाहरुका प्रमुख उपप्रमुख, विभिन्न खेलबाट ख्याती कमाएका खेलाडी, कला क्षेत्रबाट कलाकारसहितका व्यक्तित्वहरुलाई नेवा भ्वः (नेवारी भोज) का लागि आमन्त्रण गरिने बताउनुभयाे ।  

जात्रा सञ्चालनसँग सम्बन्धित निकाय तथा संघसंस्थासँग समन्वय र मौलिक परम्पराको निरन्तरतामा ध्यान दिइने संगतले बताउनुभयाे । जात्रासँग सम्बन्धित सांस्कृतिक क्रियाकलाप र सामाजिक सहभागिता, पूजाआजा, रथयात्रा, राष्ट्रपतिको सवारी योजना, सुरक्षा योजना, जात्रा पूर्व, जात्राको अवधि र जात्रा पछिका कार्यक्रमसँग महानगरपालिका, हनुमानढोका संग्रहालय विकास समिति, गुठी संस्थान, नेपाली सेना, नेपाल प्रहरी, इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसहित स्थानीय गुथिगहनाको भूमिका रहने उहाँले बताउनुभयाे ।

यसको समन्वय र व्यवस्थापन गर्न अतिथि सत्कार, सुरक्षा व्यवस्थापन, मिडिया तथा प्रचारप्रसार र सांस्कृतिक कार्यक्रम उपसमिति गठन गरिएको छ । समुदाय स्तरबाट पनि विभिन्न समितिहरु गठन हुने गरेका छन् । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार जात्रा सञ्चालन गर्न स्थानीय ३१ वटा संघसंस्थाको सक्रिय भूमिका रहने गरेकाे छ । यसबाहेक अप्रत्यक्ष सहयोग गर्ने समुदायशरू धेरै रहेकाे शाक्यले बताउनुभयाे । 

इन्द्रध्वज लिन वन प्रस्थानबाट जात्राका औपचारिक कार्यक्रम सुरु हुन्छन् । त्यसै दिन यःसिं (लिङ्गो) का रुपमा छानिएको रुख (वृक्षकर्तन) काटिन्छ । यःसिं ३३ फुट अग्लो हुन्छ । यसपछि लिङ्गो तानेर सहरमा ल्याइन्छ । भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै कालभैरवको मूर्ति भएको परिसरमा पुर्याइनेछ । यःसिं (लिङ्गो) यही ठाउँमा उत्थान गरिन्छ । यःसिं गाडिएपछि जात्राका कार्यक्रम औपचारिक रुपमा सुरु भएको मानिन्छ । यसै दिनको साँझमा वर्षभरि दिवंगत भएका आफन्तको स्वर्गमा बास होस् भन्ने कामना गर्दै पाल्चा (बत्ती) बालेर उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) मा हिँड्ने परम्परा रहेकाे छ ।

कुमारी रथ यात्रा सुरु भएको दिन तल्लो टोलमा र त्यसको भोलिपल्ट माथिल्लो टोलमा कुमारी रथयात्रा हुन्छ । नानिचा यात्राका दिन महिलाहरुले रथ तान्ने गरिएको छ । इन्द्रध्वज लडाएपछि यस वर्षका लागि जात्रा समाप्त हुनेछ । यी क्रियाकलाप साइतमा गरिन्छ । अहिले साइत प्राप्त भइसकेको छैन । इन्द्रजात्रा सुरु भएको दिन श्री लाखे आजु, श्री ऐरावत हात्ती (पुलुकिसी), किलागलको श्री देवी नाच, श्री महाकाली नाच, श्री हलचोक आकाश भैरव नाच लगायत नाचमा सहभागी हुने पात्रहरुलाई विशेष पूजाआजा गरेर बाहिर निकालिन्छ । यी देवगणहरुले जात्रा अवधिभर सहरका विभिन्न भागमा परम्परागत नाच देखाउँछन् । 

जात्रा अवधिमा हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका दे भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा इन्द्र देवताको नित्य पूजा हुन्छ । अन्य समयमा भित्री भागमा वा छोपेर राखेर यी देवताका मूर्तिहरु प्रदर्शन गर्ने चलन छ । यस्तै लक्ष्मीनारायण देवलको डवलीमा दशअवतार प्रदर्शन गरिन्छ । श्रीगणेश, श्रीभैरव र श्रीकुमारीलाई तलेजु मन्दिरका मुल पुजारी, सुसारे र मोही नाइकेको टोलीले तान्त्रिक विधिबाट पूजा आराधना गर्ने चलन छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार