सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । कोभिड महामारी र विशवका विभिन्न देशमा भएका द्वन्द्व र आर्थिक मन्दीका कारण शिथिल बनेको पर्यटन पुनरुत्थान गर्दै चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्याण गरेको हो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ ।
भ्रमण दशकसँगै नेपालमा पर्यटकको प्रतिदिन खर्च ४८ डलरबाट एक सय २५ पु¥याउने लक्ष्य राखेको छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई समेत १० प्रतिशत पु¥याउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ । यसका लागि संस्थागत सुदृढीकरण, पूर्वाधारको स्तरोन्नति, लगानी प्रवद्र्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तार, पर्यटन प्रवद्र्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवद्र्धन, पर्यटन उपजको विकास र विस्तार र देशैभर पर्यटनसम्बन्धी अभियान चलाइने समेत कार्यदलको सिफारिसमा उल्लेख छ ।
कोभिड महामारीपछि करिब शून्यमा झरेको पर्यटक आगमन गत वर्षदेखि लयमा फर्किएकामा यो वर्ष उत्साहजनक रुपमा वृद्धि भएको छ । यस वर्ष १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिडले विश्वव्यापी महामारीको रूप लिनुअघि सन् २०१९ मा नेपाली पर्यटन उद्योगको इतिहासमै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता पर्यटक आगमन क्रमशः ओरालो लागेकामा गत वर्षदेखि सुधार भएको छ । यही गतिमा बढ्दै जाने हो भने आगामी वर्ष पर्यटक आगमनले २०१९ को रेकर्ड तोड्ने आशा गर्न सकिन्छ ।
सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा भएको छ । १ जनवरीदेखि डिसेम्बर २७ सम्म १० लाख एक हजार आठ सय ४४ विदेशी पर्यटक भित्रिएको तथ्याङ्क छ । चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या १० लाख पु¥याउने घोषणा गरेको थियो । सन् २०२२ मा केवल छ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यस अवधिमै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यको शिलान्यास भएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सहजीकरण गर्न प्रक्रिया अघि बढाइएको छ ।
यसैगरी नेपाल वायुसेवा निगमद्वारा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट साताको एक दिन काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ नियमित उडान थालनी भएको छभने साताको एक दिन काठमाडौँ–इलाम–काठमाडौँ नियमित उडान सञ्चालन भएको छ । नेपाल वायुसेवा निगमबाट गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरी व्यावसायिक उडानको थालनी भएको छ । तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा एटिआर–७२ विमानबाट सेवा सुरु गरिएको छ ।
काठमाडौँ–इलाम–काठमाडौँ हप्ताको एक दिन नियमित उडान सुरु भएको छ । साथै, जुम्ला, रुकुम, रारा तथा सिमकोट विमानस्थल विस्तार स्तरोन्नतिका लागि जग्गा प्राप्ति प्रक्रिया पनि अगाडि बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय अनलाइन टिकेटिङ्ग सेवाको सुरुआत भएको छ । जुगल हिमशृङ्खलामा पर्ने पाँचवटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सूचना प्रविधिको माध्यमबाट होटल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली, नेपाल वायुसेवा निगमको अन्तरराष्ट्रिय र आन्तरिक हवाई टिकट अनलाइनबाट लिन सकिने व्यवस्था र राष्ट्रिय सङ्ग्रहालयमा भर्चुअल टुरको व्यवस्था गरिएको छ ।