काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने बताउनुभएकाे छ ।
रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ का उम्मेद्वार समेत रहेका सभापति लामिछाने, “यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने बताउनुभएकाे हाे।”
सो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रुपमा उभिनेछाैँ ।”
सभापति लामिछानेले मुलुकको सेवा गर्न तयार क्षमतावान व्यक्तित्वहरू आफ्नो पार्टीबाट निर्वाचित हुने दाबीसमेत गर्नुभयो ।
त्यस्तै रास्वपाले तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गर्नुभयो ।
रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले, 'नयाँ राजनीतिक युगको सुरुआत गर्दै देश विकासका लागि एकजुट भएर उम्मेदवारी दिएको बताउनुभयो ।'
यस्तै, अर्का उम्मेदवार रमेश खरेलले,'देश विकासका लागि आफूहरू एकजुट भएको बताउनुभयो ।' रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्र्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।