काठमाडौँ । काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता आयोजना हुने भएको छ । २९औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएकाे हो ।
प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको जनाएकाे छ । इच्छुक समूहले फारामा नां (नाम), थाय्वाय् (ठेगाना) सहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्छ । दर्ता फाराममा टोल, गुथि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट शिफारिस गराउनुपर्ने छ । यसपछि वडाबाट शिफारिस गराएर मंसिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनु पर्न जनाइएकाे छ ।
प्रतियोगितमा सहभागी हुने, प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (सृङ्गार) लगाउनुपर्ने जनाइएकाे छ । बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुने र एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्ने महानगरले जनाएकाे छ । समुहमा ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्ने र सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्ने जनाइएकाे छ । २ जनाले पछिमा, खिं, कोचखिं, धाः, नायखिं, मादल, धिमे, धोलक, नगरा वा अन्य नेवार समुदायका छालाका बाजामध्ये ३ वटा बाजा बजाउन सक्छन् । यस्तै २ जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाउन पाउँछन् ।
प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्ने छ । यसमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनु पर्नेछ । एउटा धुन ५ मिनेटभित्र सक्नु पर्छ । ४ मिनेटमा संकेत बज्नेछ । यदि छोटा धुन भए २ वटासम्म मिलाएर बजाउन पाइन्छ । गीत नेपाल भाषाकै हुनुपर्छ ।
प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ र शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिनेछ । दोस्रो पुरस्कार १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोमा ५० हजार रुपैयाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ । सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ नगद र प्रमाण पत्रसँगै सबै सहभागीलाई प्रमाण पत्र दिइने जनाइएकाे छ । प्रतियोगिता मंसिर २७ गते राष्ट्रिय सभा गृहमा आयोजना हुनेछ ।