सिन्धुपाल्चोक । बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बाढी तथा पहिरोबाट थलथलिएर विभिन्न प्राकृतिक प्रकोपको सामना गरिरहेको सिन्धुपाल्चोक बासीका समस्या समाधानका लागी आफु निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
मन्त्रालय सहालेको १ महिना नवित्दै सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरीको अवस्थाबारे निरिक्षण गर्न आउनुभएका मन्त्री मास्केले यहाँका समस्या समाधान गर्न तत्पर रहेको बताउनुभएको हो ।
उहाँले कतिपय प्राविधिक कारणले पनि विभिन्न घटनाहरु घट्नेगरेको स्मरण गर्दै यस भेगको समस्या बारे आफु जानकार रहेको बताउनुभयो । मेलम्ची हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका पुग्नुभएका मन्त्री मास्केले मेलम्ची र इन्द्रावती नदिले कटान गरेका सडक, खेतियोग्य जमिन, पहिरो, पाँचपोखरी प्राथमिक अस्पतालको निरिक्षण गर्नुभएको थियो ।
गाउँपालिकाको सभाहलमा औपचारीक कार्यक्रम गर्दै कार्यबाहक अध्यक्ष एवम् उपाध्यक्ष सुनिता अधिकारीले मन्त्री मास्केलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर ३, भोताङमा रहेको लार्के खोलामा आएको भिषण बाढी पहिरोका कारण ईन्द्रावती नदी तटीय क्षेत्रमा रहेका वडा १, २, ३, ४, ६, ७ र ८ का विभिन्न स्थानहरुमा रहेका सयौं हेक्टर खेतीयोग्य जमिन बगाई किसानले लगाएको बाली नाली नष्ट हुनुका साथै यस गाउँपालिकाको मुख्य सडक मेलम्ची भोताङ सडक खण्डको खाल्डे उत्तीसघारी, खसे बालुवा, तिपेनी ड्यामसाईड, माझीरुम्टी सडक खण्डहरु पूर्णरुपमा क्षति ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा थापालधाप जिरो किलो देखि याङ्ग्री सडकको समेत विभिन्न स्थानमा क्षति पुर्याई यातायात पूर्ण बन्द भएको र उक्त दिनको बाढी पहिरोको कारण वडा ६ र १ जोड्ने चिण्डे झोलुङ्गे पुल, वडा २ र ३ जोड्ने ईन्द्रावती याङ्ग्री झोलुङ्गे पुल, वडा ४ र २ जोड्ने माहाँकाल झोलुङ्गे पुल, कटयाडकुटुङ झोलुङ्गे पुल समेत बगाएको हुदाँ आवश्यक खाद्यान्न लगायत अत्यावश्यक सामाग्रीहरुको अभाव सृजना भएकोले यस क्षेत्रका जनताको दैनिक जनजीवनलाई सहज आवश्यक बजेट व्यवस्थापन गर्न समेत ध्यानाकर्षण पत्र मार्फत आग्रह गरीएको छ ।
पत्रमा मेलम्ची भोताङ मुख्य सडक मर्मत संभार,४ वटा झोलुङ्गे पुल, गाउँपालिका केन्द्र सडक कालोपत्रे, खसे बालुवा, खाल्डेखोला तथा चिण्डे बस्ती संरक्षण, तिपेनी अस्पताल तथा बजार संरक्षण, वैकल्पिक सडक निर्माण लगायतको माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री मास्केले समस्या समाधानको लागी आफु लागिपर्ने बताउनुभयो । उहाँले आफ्नो पसिना चुहिएको भूमी पाँचपोखरी भएकाले पनि विशेष भूमिका खेल्ने बताउनुभयो ।