प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : महेश बर्तौला
२४ आषाढ २०८१, सोमबार
काठमाडौँ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने विचार राख्दै आएको बताउँदै कांग्रेससँग उक्त विषयमा विचार मिलेकाले सरकारबाट बाहिरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्का दुई ठूला दल मिलेर मुलुकको वर्तमान सङ्कटलाई निकासा दिन राष्ट्रिय सरकार निर्माणको आकाङ्क्षा बोकेर समझदारी गरेका हौँ ।”
प्रमुख सचेतक बर्तौलाले सरकार अल्पमतमा परिसकेकाले वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने बताउनुभयो ।
सांसद बर्तौलाले संसद्मा दुई पार्टीबीचको सहमतिबारे विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै कांग्रेस र एमालेले मुलुकमा विद्यमान समस्या समाधानको सङ्कल्पगरी सहकार्य गर्न लागेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अङ्कगणितीय हिसाबले नभई राष्ट्रिय सहमतिबाट संविधान संशोधन गरेर विद्यमान समस्या समाधानमा सम्बोधन गरिने बताउनुभयो ।