काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र–४ मा चुनावी गतिविधि तीव्र बनेको छ । नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले घरदैलो अभियान, टोलस्तरीय भेटघाट र सामाजिक सञ्जालमार्फत आफ्नो चुनावी सन्देश आक्रामक रूपमा अघि बढाइरहेका छन्। समर्थकहरूका अनुसार पछिल्लो समय क्षेत्रमा उनको उपस्थिति र संवाद शैलीले मतदाताबीच सकारात्मक प्रभाव पारेको छ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बम र नेकपा (एमाले) का डा. राजन भट्टराइ मुख्य प्रतिस्पर्धीका रूपमा उभिएका छन्। तीनै दलका उम्मेदवारले आ–आफ्नो एजेन्डा सार्वजनिक गर्दै मतदाताको विश्वास जित्ने प्रयास गरिरहेका छन्।
कांग्रेस वृत्तका नेताहरूका अनुसार काठमाडौँ–४ परम्परागत रूपमा कांग्रेसको प्रभाव क्षेत्र रहँदै आएको छ। गगन थापाको स्थानमा उम्मेदवार बनेका तिमल्सिनाले संगठन सुदृढीकरण, युवा परिचालन र प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिएका छन्। उनी विकास, शिक्षा सुधार, रोजगारी सिर्जना र स्थानीय पूर्वाधार विस्तारलाई मुख्य चुनावी मुद्दा बनाउँदै अघि बढेका छन्।
यता रास्वपाका पुकार बम वैकल्पिक राजनीतिका एजेन्डासहित मैदानमा छन् भने एमालेका डा. भट्टराइ अनुभव र संगठनात्मक बलका आधारमा प्रतिस्पर्धामा छन्।
काठमाडौँ–४ मा यसपटक युवा नेतृत्व, वैकल्पिक सोच र स्थापित राजनीतिक अनुभवबीच प्रतिस्पर्धा देखिएको विश्लेषकहरू बताउँछन्। चुनावी माहोल तातिँदै जाँदा मतदाताको अन्तिम निर्णयले नै परिणाम निर्धारण गर्नेछ।