प्रधान सेनापति महारथी अशोकराज सिग्देलद्वारा पदभार ग्रहण

दक्ष खबर 15668+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार


काठमाडौँ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्लेललाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति पौडेलले सिग्लेललाई दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नुभएको छ ।

सोही अवसरमा राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधान सेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम आज महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नुभएको हो ।

सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ । त्यसैगरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गर्नुका साथै जङ्गी अड्डामा पद बहाली गरी कार्यभार सम्हाल्नु भएको छ ।

विसं २०२३ माघ १९ गते रुपन्देहीमा जन्मनुभएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गर्नुभएको थियो । गत साउन २५ गतेबाट उहाँले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार