छठ पर्वका लागि महानगर सक्रिय : असहजता भएमा सहजीकरण गर्ने

दक्ष खबर 15654+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूर्य उपासनाको पर्व छठलाई भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन विशेष तयारी सम्पन्न गरेकाे छ । महानगरले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि घाट, पोखरी, दह तथा नदी किनारहरूमा सरसफाइ, व्यवस्थापन र सजावटलाई प्राथमिकताका साथ अघि बढाउँदै तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

महानगरले छठका लागि उपासना गरिने स्थानहरूमा जेट–मेसिन प्रयोग गरी पानीले पखाल्ने, डेसिबल मेसिन र ब्रुमरमार्फत सरसफाइ बलियो बनाउने कार्य तीव्र रूपमा सञ्चालन गरिरहेको छ। सरसफाइ अभियानमा ३५० भन्दा बढी सरसफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरिएको छ। यस क्रममा जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी तयारी गरिएको महानगरले जनाएको छ।

भक्तजनलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन पोखरी, ताल र नदी किनार सफाइसँगै उज्यालोको व्यवस्थापन, यात्रु मार्ग, सुरक्षा र शौचालय सुविधामा पनि ध्यान दिइएको छ। उपासनास्थल वरिपरि सफा, स्वच्छ र धार्मिक वातावरण निर्माणलाई महानगरले प्राथमिकता दिएको छ।

यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४) र रामघाट (वडा २०), बालाजु २२ धारा (वडा १६)  गरी ९ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको छ। यी स्थानहरूमा सजावट र स्वच्छता कायम गर्ने कार्य सम्पन्न  भएकाे छ ।

आवागमन व्यवस्थापनका लागि महानगरले तोकिएका स्थानमा मात्र सवारी पार्किङ गर्न, ‘पिक एण्ड ड्रप’ प्रणाली अपनाउन भक्तजनलाई आग्रह गरेको छ। पूजाअर्चनामा सहभागी भइरहँदा सहजता, भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायहरू सतर्क रहने महानगरले जनाएको छ।

सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको छठलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीक मानिन्छ। आमाको ममता, परिवारको समर्पण र समाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गरिने धार्मिक विश्वास रहेको छ।

“हाम्रो संस्कृति हाम्रो गर्व, आस्थाको उज्यालो हाम्रो पहिचान” भन्दै काठमाडौँ महानगरपालिकाले सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ तथा आमाबुबालाई छठ पर्वको शुभकामना व्यक्त गरेको छ । पूजाअर्चना तथा उपासनाका क्रममा कुनै समस्या परेमा सहजीकरणका लागि महानगरले निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ  :-

📞 कल सेन्टर : ११८० / १६६००१०५५११

📞 ०१–५९०१७८३ / ०१–५६०१७४

📞 मोबाइल : ९८५१३५६५०९


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार