माइतिघरमा जेन-जीको धर्ना, सम्मेलनको वातावरण बनाउन सरकारसँग माग (तस्विरसहित)
८ कार्तिक २०८२, शुक्रबार
काठमाडौँ । जेन-जीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेन-जी सम्मेलन गर्न माग गरेको छ । जेन-जीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतिघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेन-जी सम्मेलन र काठमाडौँमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरे ।
उनीहरुले आफूहरु एकजुट हुँदै एकता र समर्पण खोजिरहेको समेत बताए । यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरुलाई सह्य नभएको बताउँदै उनीहरुले सबै जिल्लामा जेन-जी सम्मेलन आयोजना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
“सबै जिल्लामा जेन-जी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय जेनजी सम्मेलन आयोजना गर्नुपर्छ, जहाँ सम्पूर्ण देशबाट जेन-जीको प्रतिनिधित्व हुनेछ”, जेन-जी प्रतिनिधि सदिक्षा राईले भन्नुभयो, “सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ ।”
उहाँले वर्तमान सरकार केबल नेताहरुको नभइ जनता र शहीदको सपना बोकेको सरकार भएको बताउनुभयो । “यो सरकार शहीदहरुको बलिदानबाट जन्मिएको हो, सरकारले नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको जिम्मेवारी रक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
राईले वर्तमान सरकार जेन-जी पुस्ताको पनि अभिभावक भएको बताउनुभयो । उहाँले सरकार पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुलुक सङ्कटमा परेको अहिलेको समयमा एकता र सहकार्य महत्वपूर्ण भएको धारणा राख्नुभयो ।
धर्नामा सहभागी मदन कार्कीले जेन-जीका नाममा विभिन्न पार्टी वा समूहमा लागेर विभाजन नहुन आग्रह गर्दै देशभरका जेन-जीहरु एकजुट हुन आह्वान गर्नुभयो । “मुलुकभरका सबै जेन-जीहरु एकजुट हुन आवश्यक छ, यसका लागि सरकारले हामीलाई सहयोग गर्नुपर्छ, जेन-जी एकजुट हुन सरकारको साथ आवश्यक छ”, जेन-जी आन्दोलनका घाइते समेत रहनुभएका कार्कीले भन्नुभयो ।
धर्नामा सहभागीहरुले ‘जेन-जीका माग पूरा गर’, ‘शहीदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’, ‘शहीदहरुको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले अहंकार पछि’, ‘देश दुःख्दा मौन नबसौँ, एक हौँ’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । धर्नामा जेनजी आन्दोलनका घाइते, शहीद परिवारको पनि सहभागिता थियो ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसले उठाएका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले उनीहरुले धर्ना दिएका हुन् ।