अष्ट्रेलियामा विद्यालय स्तरको ऐच्छिक विषयमा नेपाली पाठ्यक्रम कार्यान्वयनमा ल्याउन उपप्रमुख डंगोलकाे प्रस्ताव 

दक्ष खबर 15660+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, स्थानीय सम्बन्धको प्रतीकका रुपमा विद्यालय स्तरको ऐच्छिक विषयका रुपमा नेपाली पाठ्यक्रम कार्यान्वयनमा ल्याउन प्रस्ताव गर्नुभएको छ । अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनसँग कुराकानीका क्रममा उहाँले जनस्तरसम्म पहुँच हुने आपसी कार्यक्रमका बारेमा कुरा गर्दै यस्तो प्रस्ताव गर्नुभएको हो । 

काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि गरेका प्रयासका विषयमा कुरा गर्दै उपप्रमुख डंगोलले, प्रारम्भिक बाल विकासका लागि एकीकृत सिकाइ र कक्षा ४ देखि ८ सम्मका बालबालिकालाई व्यवहारिक ज्ञानका लागि सिर्जनात्मक सिकाइ र कक्षा ९ र १० का विद्यार्थीलाई जीवनउपयोगी पेशागत ज्ञानका लागि शिक्षामा सिप कार्यक्रम सञ्चालन गरिएको, नेपाल भाषामा स्थानीय पाठ्यक्रम तर्जुमा गरिएको जानकारी दिनुभयो । अष्ट्रेलियामा नेपाली भाषाको पाठ्यक्रम तर्जुमा गर्न महानगरपालिकाले जनशक्ति सहयोग उपलब्ध गराउन सक्ने उहाँले बताउनुभयाे । 

त्यस क्रममा राजदूत जोन्स्टनले उपप्रमुखको प्रस्तावलाई समर्थन गर्दै अष्ट्रेलियामा नेपाली भाषा अध्यापन गराउन सके अष्ट्रेलियन बालबालिकालाई पनि लाभ हुने बताउनुभयो । ‘दुई देशका बिचमा रहेको कुटनीतिक दौत्य सम्बन्धसँगै नगर नगरका बिचमा भगिनी सम्बन्ध स्थापना गर्न हामी इच्छुक छौँ ।’ राजदूत जोन्स्टनले परस्पर कार्यक्रम सञ्चालन गर्न भगिनी सम्बन्धमार्फत औपचारिक साइनो गाँस्न सकिने बताउनुभयो । 

भेटका क्रममा यसअघिका भेटका क्रममा भएका कुराकानी, त्यस क्रममा प्रतिवद्धता व्यक्त भएका कार्यक्रमको कार्यान्वयन अवस्था र आगामी सम्भावित कार्यक्रमका विषयका कुराकानी भएको थियो । यस क्रममा युनेस्को रचनात्मक सहर सञ्जालमार्फत कला, साहित्य, सिर्जना, चलचित्रसहित रचनात्मक उद्योगमा आपसी कार्यक्रम गर्न सकिने सम्भावना व्यक्त भए । उपप्रमुख डंगोलले गएको बर्ष गर्नुभएको अष्ट्रेलियाको भ्रमण र सिकाइका विषयमा पनि समीक्षात्मक कुराकानी भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार