‘अनुचित लेनदेनमा सङ्लग्नलाई कानुन बमोजिम कारबाही हुन्छ’ : गृहमन्त्री
१८ माघ २०८१, आइतबार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कानुन विपरीतका अनुचित लेनदेन (मिटरब्याज) सङ्लग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, “अनुचित लेनदेन सम्बन्धमा नेपाल प्रहरीका जिल्लास्थित कार्यालयमा प्राप्त उजुरीहरु छानबिन गरी टुङ्ग्याउने काम भइरहेको छ, यस्ता कार्यहरु कानुनअनुसार दण्डनीय भएकाले त्यस किसिमका कानुन विपरीतका क्रियाकलाप कोही कसैले गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्न सरकार प्रतिबद्ध छ ।”
मन्त्री लेखकले अनुचित लेनदेन (मिटरब्याज) अपराधबाट सिर्जित समस्याको अन्त्य गरी दीर्घकालीन समाधान गर्नका लागि जाँचबुझ गरी राय-सुझाव सहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरी कार्य गरिएको बतानुभयो । सो सम्बन्धमा आयोगमा दर्ता भएकामध्ये पाँच हजार २०० उजुरी फछ्र्यौट÷सहमति भइसकेको उहाँको भनाइ छ ।
“साविकको आयोगलाई तोकिएको समयावधि सकिएको र यसअघिको आयोगबाट सोचेअनुरुप काम हुन नसकेको हुँदा बाँकी कामलाई गतिका साथ निष्कर्षमा पु-याउन पुनः आयोग गठन गर्न लागिएको छ”, उहाँले भन्नुभयो ।
उहाँले पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा भएको बेलुन विस्फोटको घटना सम्बन्धमा जवाफ दिँदै उक्त घटनाका सम्बन्धमा विस्तृत छानबिन गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विज्ञसहितको छानबीन समिति गठन गरिएको जानकारी दिनुभयो ।
“उक्त समितिले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव दिनेछ, समितिको प्रतिवेदनका आधारमा मेला महोत्सवलगायतका कार्यक्रममा सुरक्षा सतर्कता व्यवस्थापनका सम्बन्धमा थप सावधानीहरु अपनाइने छ”, उहाँले भन्नुभयो । त्यसैगरी सोलुखुम्बुको सीमा प्रशासन कार्यालय नाम्चेबजार कर्मचारीविहिन भएको सम्बन्धमा जवाफ दिँदै छिट्टै कर्मचारी व्यवस्थापन गरी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । “सीमा अपराध नियन्त्रण तथा सीमामा नेपाली र भारतीय नागरिकको सुरक्षित, सहज र मर्यादित आवतजावतका लागि दुवै देशका सुरक्षा अधिकारीबीच समय–समयमा समन्वयतात्मक बैठक बस्ने गरेको छ, सिमामा सुरक्षा निकायबाट निगरानी बढाईएको छ”, उहाँले भन्नुभयो ।
यसै वर्षमा थप सात वटा सीमा आउटपोष्ट थप्ने तयारी भइरहेको उहाँको भनाइ छ । अवैध चोरी पैठारी नियन्त्रणमा पनि सक्रियता बढाइएको जनाउँदै उहाँले अवैध चोरी पैठारीमा संलग्न जो सुकैलाई पनि शून्य सहनशिलताको नीतिअनुरुप कारबाही गर्ने गरिएको बताउनुभयो ।
तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले सोही वडाका वडा सचिव नविन भुसालमाथि गरेको अभद्र व्यवहारसम्बन्धी मुद्धामा जिल्ला प्रहरी कार्यालयमा दर्ता भइ कानूनी कारबाहीको प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ ।
“कर्मचारीमाथि जनप्रतिनिधिबाट भएका घटनाको शृङ्खला बढेको सन्दर्भमा सबै जिल्ला प्रशासन कार्यालयलाई यस्ता घटनाका सम्बन्धमा जोसुकै दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न र कर्मचारी सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन पनि दिइएको छ । कर्मचारीको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उहाँले भन्नुभयो ।
अछामको ढकारीमा दुई किशोरीको मृत्युका सम्बन्धमा जवाफ दिँदै उहाँले नेपाल प्रहरीबाट घटनास्थलबाट सङ्कलन गरिएका भौतिक प्रमाणको फोरेन्सिक परीक्षण, सिडिआर विश्लेषणलगायतको अनुसन्धान पूरा गरी २ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको बताउनुभयो । “जिल्ला अदालत, अछामबाट पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश भए बमोजिम डोटी बाल सुधारगृह पठाइएको र एक जना नाबालकलाई आवश्यक पर्दा पछि उपस्थित हुने गरी छाडिएको छ । दोषीलाई पक्राउ गरी कानुनी कारवाहीमा ल्याइसकिएको छ”, उहाँले भन्नुभयो ।
मन्त्री लेखकले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जघन्य प्रकृतिका अपराध हुन/गर्न नपाउने गरी स्थानीय सरोकारवाला निकायसँग समेत समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले महिलामाथि हुने हत्या, हिंसा र शोषणका विषयमा कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।