प्रतीक ढकाल नियात्रा सौरभ २०८२ सलोन कार्थकलाई

दक्ष खबर 15660+ समाचार ( )
२३ पौष २०८१, बुधवार

काठमाडाैँ । २२ माघ २०८१ । जयन्ता-पवित्रा ढकाल स्मृति काेषले 'प्रतीक ढकाल नियात्रा सौरभ' २०८२ पुरस्कारका लागि स्रष्टा छनाैट गरेकाे छ । नेपाली नियात्रा साहित्यको विकासमा निरन्तर समर्पित भारतको कालेबुङ निवासी स्रष्टा सलोन कार्थकलाई याे पुरस्कार समर्पण गर्ने निर्णय गरेको पुरस्कार छनौट समितिका संयोजक महेश पौड्याल र सचिव भवानी खतिवडाले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।

कोषले प्रत्येक वर्ष श्रीपञ्चमीको दिन निर्णय गरी अर्को वर्षको जेठ १३ गतेका दिन नियात्रा विधाका कीर्तिमानी स्रष्टाहरूलाई सुशोभन गर्दै आएको छ । पुरस्कारमा नेपाली रुपियाँ एकाउन्न हजार नगद राशिसहित अभिनन्दन र सम्मानपत्र रहेको छ ।

नेपाली र शिक्षाशास्त्र दुई विषयका स्नातकोत्तर उपाधि प्राप्त भारतको कालेबुङ निवासी कार्थकको लेखनको मूल क्षेत्र नै नियात्रा विधा हाे । हालसम्म उनका समुद्रवारि समुद्रपारि (१९७६), विदेशतिर रिङ्दै जाँदा (१९९६), पदयात्रा गाउँको फन्को विदेशको (२०००), विदेश एउटा पल्लो गाउँ (२०१३) र गोलार्द्ध घुमाइका रङहरू (२०१७) नियात्राकृतिहरू प्रकाशित छन्। भारतीय नेपाली साहित्यमा नियात्रा लेखेरै साहित्य अकादमी पुरस्कार विजेता बनेका उनी नेपाली नियात्रा साहित्यको एक उल्लेखनीय उचाइमा छन् ।

वि.सं. २०७५ सालको श्रीपञ्चमीका दिन जयन्ता-पवित्रा ढकाल स्मृति कोषको स्थापना गरिएकाे थियाे । काेषले घाेषणा गरेकाे 'प्रतीक ढकाल नियात्रा सौरभ' पुरस्कार पहिलो पटक २०७६ सालमा डा. तारानाथ शर्मालाई समर्पण गरिएको थियो । त्यसपछि क्रमशः डा. सत्यमोहन जोशी (२०७७), देविचन्द्र श्रेष्ठ (२०७८), भुवनहरि सिग्देल (२०७९), गीता खत्री (२०८०), घनश्याम राजकर्णिकार (२०८१) लाई यो पुरस्कार समर्पण गरिसकिएको छ । यही सिलसिलालाई निरन्तरता दिँदै सातौँ संस्करण अर्थात् वि. सं. २०८२ को यो पुरस्कार सलोन कार्थकज्यूलाई समर्पण गर्ने निर्णय लिइएको पुरस्कार छनाैट समितिका संयाेजक महेश पाैड्यालले बताए ।

प्रत्येक वर्ष जेठ १३ गतेका दिन सम्मान समर्पण गर्ने परम्परा अनुरूप नै यस वर्ष पनि जयन्ता - पवित्रा ढकाल स्मृति कोषको आर्थिक व्यवस्थापन तथा पर्वतीय साहित्य समाजको आयोजनामा काठमाडौँमै एक विशेष समारोहको आयोजना गरी यो सम्मान समर्पण गरिने उनकाे भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार