काठमाडौँ । बिहीबारदेखि शुरूवात हुने एसईई परीकामा जापानबाट २३ जना विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको एसईई परीक्षामा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो । उहाँका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पु¥याएको छ । बोर्डले यसवर्ष पाँच लाख प्रश्नपत्र छापेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने छ । उत्तरपुस्तिका एवम् अन्य सामग्री कार्यालयले सातै प्रदेशबाट जिल्लाजिल्ला पठाइसकेको जानकारी दिँदै पौडेलले परीक्षाका लागि प्रदेश र जिल्लाले गर्ने तयारी पनि पुरा भएको जानकारी आएको बताउनुभयो ।
परीक्षा सञ्चालनका लागि आवश्यक बजेट भने सातवटै प्रदेशका प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ ।
जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।