काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रश्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ । शनिवार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रश्तुति प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले सरकारले संसदमा प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभयो । उहाँले सांसदहरुले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिनुभयो । उहाँले संसदमा बोल्नु अगाडि बुँदागत रुपमा टिपेर बोल्नुपर्ने बताउनुभयो । विपक्षीहरुले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरुले तयारी गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्वाइन्टहरु साथीहरुले लेखेर ल्याउनुहोला बोल्ने बेलामा, लेखेका प्वाइन्टहरु बोल्नुहोला ताकि कुरा नछुटोस् , नबिर्सियोस् भन्नका लागि । लेखेर ल्याएको बुँदाहरु प्रष्टताका साथ व्याख्या गर्न सक्नेगरी आउनुप¥यो । सिङ्गै वक्तव्य लेखेर ल्याएपनि हुन्छ । लेखेर ल्याएको वक्तव्यमा तत्काल उठेका प्रश्नको जवाफ दिन सकिँदैन, असहज हुन्छ । तत्काल उठेका कुराहरुको प्रतिवाद हामीले गर्नैपर्ने हुन्छ । हरेक सांसदहरुले गलत कुरामा उठेको खण्डनहरुमा पनि बोल्नैपर्ने हुन्छ । त्यस ढंगले आफूलाई प्रश्तुत गरेर आउनु म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’
सरकारले शुक्रवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा सांसदहरुलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ । न्युज एजेन्सी नेपाल