काठमाडौँ । नेपाली फेसन उद्योगको अग्रणी संस्था द हिडन ट्रेजरले ३०औँ वार्षिकोत्सब एवं डिजाइनर अफ द इयर” प्रतियोगिता गर्नु भएको छ । एक नयाँ र रोमाञ्चक प्रस्तुति रहने गरी “डिजाइनर अफ द इयर” प्रतियोगिता शुरूवात गरेको हो ।
यस प्रतियोगिताले फेसन डिजाइनर, विद्यार्थी, र उद्योगका क्षेत्रमा प्रवेश गर्न चाहने व्यक्तिहरूलाई आफ्नो सिर्जनशीलता र फेसनप्रतिको लगन प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने आयोजक संस्थाले जनाएको छ ।
यस प्रतियोगिताको शुरुवात नेपालगञ्ज, पोखरा, विराटनगर, र काठमाडौँ गरी चार सहरहरूमा अडिसन मार्फत हुनेछ। अडिसनमा प्रस्तुत गरिएका स्केच र डिजाइनहरूको आधारमा १२ देखि १५ जना प्रतिभाशाली डिजाइनरहरू छनौट गरिने जनाइएको छ । यी छनौट भएका डिजाइनरहरूलाई उद्योग क्षेत्रका विशेषज्ञहरूबाट मार्गदर्शन दिइनुका साथै ४ देखि ५ हप्ताको समयमा आफ्नो अन्तिम प्रस्तुतिका लागि तयार पार्ने बताइएको छ ।
प्रतिभागीहरूलाई प्रख्यात फेसन डिजाइनरहरूबाट मार्गदर्शन, सिजिङ मेसिन विशेषज्ञहरूसँगको अन्तरक्रिया, फ्याब्रिक र एक्सेसरी आपूर्तिकर्ताहरूसँगको सहकार्य, र प्रमुख गार्मेन्ट फ्याक्ट्रीहरूको भ्रमण जस्ता अवसरहरू प्रदान गरिनेछन् । प्रत्येक डिजाइनरले ६ देखि ७ मौलिक डिजाइनहरू सिर्जना गर्नेछन्, जसमा २ देखि ३ जना डिजाइन द हिडन ट्रेजरको लागि विशेष रूपमा तयार हुनेछन् । यी विशेष डिजाइनहरूमा एक राष्ट्रिय पोशाक र एक इभनिङ गाउन समावेश हुने जनाइएको छ ।
पाँच जनाको प्रतिष्ठित निर्णायक मण्डलले डिजाइनहरूको मूल्याङ्कन गरी विजेता छनौट गर्नेछ । प्रतियोगिताको विजेताले नगद पुरस्कार एक लाख पचाँस हजार, एक उच्च प्रविधिको ज्याक ब्रान्ड सिजिङ मेसिन, मिस नेपाल विजेताले अन्तराष्ट्रिय पेजेन्टहरूमा लगाउने मौका पाउने छन् ।
साथै, प्रतियोगितामा -याम्प वाक गर्ने एक भाग्यशाली मोडललाई मिस नेपाल २०२५ प्रतियोगितामा प्रत्यक्ष प्रवेश दिइने जनाइएको छ ।