काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको सहकार्यकै कारण सफल भएको बताउनु भएकाे छ।
बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशको ऐतिहासिक आन्दोलनहरूमा वाम लोकतान्त्रिक शक्तिको योगदान निर्णायक रहेको बताउनुभयाे।
“पुष्पलालले देखाएको बाटो वास्तवमै सार्थक छ। वाम र लोकतन्त्र फरक धारका राजनीति भए पनि पुष्पलाल र बीपी कोइरालाबीच गहिरो सम्बन्ध थियो,” मन्त्री पाण्डेले भने, “बीपी भन्नुहुन्थ्यो, म राजनीतिक कार्यक्रम लेख्छु, तपाईं आर्थिक कार्यक्रम लेख्नुहोस् भनेर। यस्ता कुराहरू पढ्न पाइन्छ।”
उहाँले पुष्पलालको योगदानलाई आजको पुस्ताले बुझ्न आवश्यक रहेको भन्दै पुष्पलाललाई सीमित व्यक्तिले मात्र चिन्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राख्नुभयाे। “पुष्पलाल राष्ट्रिय पुरस्कार निरन्तर सञ्चालन हुन्छ। यो विचारको निरन्तरता हो,” मन्त्री पाण्डेले स्पष्ट पार्नुभयाे।
उहाँले २०६२/०६३ को जनआन्दोलनदेखि संविधान सभामार्फत संविधान जारी हुनुमा वाम र लोकतान्त्रिक शक्तिहरूको सहकार्यले नै सफलता दिलाएको दाबी गर्नुभयाे। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको थियो । राजनीतिक सैद्धान्तिक विधामा अर्घाखाँचीकी शान्ता मानवी, इतिहास विधामा मोरङका डा. मेदनप्रसाद सेढाई, तथा जनकी–उदयपुरका राममणी पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो।