पदक विजेता पलेशा नेपाली कांग्रेसद्वारा पाँच लाखसहित सम्मानित
२३ भाद्र २०८१, आइतबार
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारा ओलम्पिक–२०२४ की ऐतिहासिक कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।
सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पलेशालाई रु पाँच लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । त्यसैगरी, प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख ५० हजार तथा पेरिस पारा ओलम्पिकमा सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महतालाई रु ५० हजारसहित प्रशंसापत्रबाट सम्मानित हुनुभयो । यस्तै व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो सङ्घलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।
सभापति देउवाले नेपालकी छोरी पलेशाले पारा ओलम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको उल्लेख गर्दै पलेशाको सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पलेशालाई बधाई दिँदै आगामी दिनमा अझ बढी सफलताका लागि शुभकामना दिनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको उल्लेख गर्दै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिनसके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले पारा खेलकुदमार्फत पलेशाले विश्वव्यापी रुपमा नेपाललाई चिनाएको भन्दै सानो देशले पनि बलिया राष्ट्रलाई हराउन सक्ने क्षेत्र खेलकुद भएको बताउनुभयो । उहाँले खेलकुद राज्यको प्राथमिकतामा पर्नुपर्ने जिकिर गर्दै अहिलेको बजेट खेलकुदका लागि अपुग भएको बताउनुभयो ।
फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न के–४४ विधामा महिला ५७ किलोमुनि रिपेचेजतर्फ कास्य पदक जित्नुभएको थियो । पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अङ्कले पराजित गर्नुभएको थियो ।