रुसी सेनामा नेपाली युवाको भर्तीबारे सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री

दक्ष खबर 15665+ समाचार ( )
७ पौष २०८०, आइतबार


काठमाडौँ । नेपाली युवा रुसी सेनामा भर्ती भई समस्यामा परेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफू त्यसबारेमा गम्भीर र संवेदनशील रहेको बताउनुभयो । “रुस वा युक्रेनको लडाइँमा नेपाली युवा रुसी वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन”, उहाँले भन्नुभयो । 

विगतमा सम्झौता भएका भारत र इङ्ग्ल्यान्डबाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति नभएको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री दाहालले त्यसबारेमा रुसलाई नोट पठाइएको, परराष्ट्रमन्त्रीले पटक–पटक यस विषयमा कुरा गर्नुभएको जानकारी दिनुभयो । 

नाम सम्मेलनका क्रममा गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा रुसका उपविदेशमन्त्रीसँग पनि भेटेर परराष्ट्रमन्त्रीले कुरा गर्नुभएको स्पष्ट पार्दै नेपाली युवालाई फिर्ता पठाइदिन आग्रह गरिएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । युद्धमा परेर मारिएका युवाका बारेमा पनि कुरा भएको बताउँदै क्षतिपूर्तिलगायत विषयमा सरकारले गम्भीर रूपमा लिएको उहाँको भनाइ थियो ।

“सबैले जनतामा चेतना फैलाउनुपर्छ । जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीत विपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत सेनामा भर्ती हुने, जहाँ पनि जाने, अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ । सरकार गम्भीर छ । यसमा सबै लाग्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो । 

प्रधानमन्त्री दाहालले ताइवानलाई नेपालले सुरुदेखि नै चीनको अङ्गका रूपमा हेर्दै आएको स्पष्ट पार्नुभयो । “एक चीन नीति स्वीकारीसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनाैँ”, उहाँले भन्नुभयो । ताइवान चीनकै अङ्ग हो भन्ने नीति नेपालको सुरुदेखि नै रहिआएको र त्यो भन्दा बाहिर नभएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार