काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन

दक्ष खबर 16657+ समाचार ( )
१० जेठ २०८३, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भर्नुभएको छ । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य हुनुहुन्छ ।आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोवाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उहाँहरुले भोलि दिउँसो १२ जनासम्म विवरण सच्याएर पुनः पेश गर्नु पर्नेछ । 

प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरुलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ । अभिभावक र विद्यार्थीहरुले कक्षबाट सहायता प्राप्त गर्न सक्नुहुनेछ । अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भएको छ । सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको हो । खड्काका अनुसार विद्यार्थीहरुको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ । तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नु पर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ । जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ । 

आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते विहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेश पत्र डाउनलोड गर्न र कलर प्रिन्ट गर्न सक्नुहुनेछ । परीक्षा केन्द्र र परीक्षा सम्बन्धी जानकारी प्रवेश पत्रबाट प्राप्त गर्न सकिनेछ । आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फाराम भर्नुभएको छ । यसरी फाराम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ । व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना हुनुहुन्छ । 

कक्षा १० सड्म्मढको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्छ । परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ् लिष्टबाट नाम शिफारिस हुन्छ । नाम शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११÷१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार