महोत्सवकै अवसर पारेर चौथो आइर्वाट लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई मन्त्रीको शर्माको उपस्थितिमा पुरस्कार प्रदान गरिएको थियो । महिलाद्वारा निर्देशित ३ देखि १५ मिनेट लामा चलचित्रहरूले सहभागिता जनाएको सो प्रतियोगितामा अनुष्का अर्यालद्वारा निर्देशित 'सङ्कुल' प्रथम भयो । त्यस्तै, अनिता स्याङबो निर्देशित 'वर्थ', श्रेयन राजभण्डारी निर्देशित 'अक्वारियम', पुनम पौडेल निर्देशित 'लिभिङ विथ डिग्निटी' र सरिता शाह निर्देशित 'नोटबुक'ले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरे ।
कार्यक्रमको समापन समारोहमा मन्त्री शर्माले समाज परिवर्तनमा महिला चलचित्रकर्मीहरूको प्रयासलाई धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, "हामीले अहिले विभिन्न क्षेत्रमा महिला सशक्तीकरणका अभ्यासहरू भइरहेको देखेका छौँ । चलचित्र क्षेत्रमा समाजलाई सन्देश दिने ढङ्गले जसरी महिला चलचित्रकर्मीहरूले जुन प्रयत्न गरिरहनुभएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । यो कामले निरन्तरता पाउन सकोस् ।" शर्माले समाजका विभिन्न कामहरूमा महिलाले आफ्नो पुरै जीवन कसरी त्याग गर्न सक्छन् भन्ने चलचित्रहरू पनि हेर्न पाएको बताइन् । उनले थपिन्, "महिलालाई किन धर्ती भनिएको हो भन्ने अर्थ यी चलचित्रमा पाइन्छ । यो महोत्सवमा देखाइएका सबै चलचित्रहरू एकदमै प्रेरणादायी छन् ।" साथै शर्माले सरकारले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिने खालका योजनाहरूमा काम गरिरहेको बताइन् ।
महोत्सवमा काठमाडौँ महानगरपालिका अन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका थिए । एक भिडियो सन्देशमार्फत महानगरपालिकाकी उप प्रमुख सुनिता डङ्गोलले यो चलचित्र महोत्सवलाई एउटा अवसरको रूपमा लिनुपर्ने बताइन् । उनले भनिन्, "यस महोत्सवले धेरै भन्दा धेरै महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिनेछ । नयाँ पुस्ताका चलचित्रकर्मीहरूलाई पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य बनाउने आशा दिनेछ । त्यति मात्र नभएर धेरैलाई प्रोत्साहन र अवसर सँगसँगै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा आशा लिएका छौँ ।" महोत्सवको दौरान पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको उपस्थितिमा नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो ।
रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले यो महोत्सवको आयोजना गरेको हो । नेपाली चलचित्र क्षेत्रमा रहेका रचनात्मक र सृजनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न फेस्टिभल आयोजना गरिएको फेस्टिभल निर्देशक सङ्गीता श्रेष्ठले बताइन् । आइवार्टले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरेको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन् ।