काठमाडौँ । नेपाल पौडी संघले आगामी असोज १३ र १४ गते १२औँ एनएसए कप पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारीबाहेक) हुँदै आइरहेको छ । बुधबार नेपाल पौडी संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिष्पर्धा गर्ने संघले जनाएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/पुरुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिष्पर्धा हुने जनाइएको छ ।
संघले यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअगाडि आफूलाई प्रमाणित गर्ने अवसरसमेत रहेको जनाएको छ । यस प्रतियोगितामार्फत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँच लगायत अपेक्षा गरिएको छ । उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा संघले लिएको छ । राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा पुरस्कृत गरिने संघले भएको छ ।
एक सेकेण्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेण्डदेखि तीन सेकेण्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तीन सेकेण्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् । वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ ।
नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमश: नगदसहित सम्मान गर्ने शुरुवात गरिने भएको छ । यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा संघका महासचिव ईश्वर कार्की र सचिव गंगा गोले, कोषाध्यक्ष दिलिप वैद्य लगायतको उपस्थिति रहेको थियो ।