जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट तयार गर्ने सिलसिलामा सुझाव संकलन गरेको छ ।
नगरपालिकाले जनमुखी तथा जन सहभागी योजना निर्माणलाई प्राथमिकता दिँदै विभिन्न निकाएका, नागरिक समाज, सरोकारवाला र संघसंस्थाबाट सुझाव संकलन गरिएकाे हो ।
जनताको आवश्यकता बुझ्न, वास्तविक समस्या पहिचान गरी समुदायस्तरमा समाधानमुखी योजना बनाउने उदेश्य र सार्वजनिक सेवा प्रभावकारी बनाउने सुझाव संकलन गरिएको नगरप्रमुख राजुसिंह कठायतले बताए । यस्तै, स्थानीय विकासमा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नका लागि सुझाव संकलन गरिएको हो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पशुपालन, पर्यटन तथा पूर्वाधार विकास, महिला, बालबालिका, अपांगता र ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम, रोजगारी सिर्जना, उद्यमशिलता विकास, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका विषयका सुझाव माग गरेको छ ।
नागरिकले दिएका सुझावलाई नीति कार्यक्रममा समावेश गरिने नगर उपप्रमुख रामदेवि खडकाले बताइन् ।